एमालेको स्थायी कमिटी बैठक बस्दै

62

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरस्थित पुष्पलाल स्मृति भवन च्यासलमा बिहीबारदेखि सुरु भएको स्थायी कमिटी बैठक पार्टीको दशौं राष्ट्रिय महाधिवेशन तथा समसामयिक विषयमा केन्द्रित छ।

शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा महाधिवेशनसँग सम्बन्धित केही विषय तथा १० बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार आज १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गर्ने भएको छ।

बिहीबारको बैठकमा १० बुँदे सहमति कार्यान्वयनका विषयमा नेताहरु भीम रावल, घनश्याम भुसाललगायतले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाएका थिए। अध्यक्ष ओलीले माधवकुमार नेपाललगायतका नेताहरुले पार्टी विभाजन गरिसकेको अवस्थामा अब १० बुँदेको एकतारे बजाउनुको अर्थ नरहेको बताएपछि बैठकमा चर्काचर्कीसमेत भएको थियो।

यस्तै‚ बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको दशौँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो। महाधिवेशनका लागि बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मुल व्यवस्थापन कमिटी गठन गरिएको थियो। एमालेले वडास्तरमा कात्तिक ६ र स्थानीय तह स्तरमा कात्तिक ९ गते अधिवेशन गर्ने तय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here