काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनद्वारा ताइवानमाथि आक्रमण भएको खण्डमा अमेरिकाले सुरक्षाकाे जिम्मा लिने जनाएका छन् ।
एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै बाइडेनले ताइवानको रक्षा गर्ने बताएका हुन् । ‘अवश्य पनि उक्त कार्य गर्ने हाम्रो प्रतिबद्धता हो’, अमेरिकाले ताइवानको रक्षा गर्छ भनेर सोधिएको प्रश्नको उत्तर दिँदै बाइडेनले यस्ताे जनाएका थिए ।
त्यस्तै, बाइडेनले चीनसँग जानीजानी हुने द्धन्द्धबाट आफू चिन्तित नहुने समेत जनाएका छन् । अमेरिका विश्व इतिहासमै सबैभन्दा शक्तिशाली सैन्य शक्ति हो भन्ने सबैलाई थाहा भएको र चीन थप शक्तिशाली हुने कुराबाट चिन्ता गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो ।
ताइवानको सुरक्षासम्बन्धी पेचिलो मुद्दामा अमेरिकाले लामो समयदेखि ‘रणनीतिक अस्पष्टता’को नीति लिँदै आएको छ । यसको अर्थ चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा आफूले चाल्ने कदमबारे अमेरिका जानीजानी अस्पष्ट छ भन्ने हो ।
चीनले ताइवानलाई आफूबाट छुट्टिएको एक प्रान्त ठान्छ र आवश्यक परे बलपूर्वक आफूमा गाभ्न सक्ने जनाउँदै आएको छ । तर ताइवानले भने आफू स्वतन्त्र राष्ट्र भएको दाबी गर्दै आएको छ । ताइवानसँग अमेरिकाको औपचारिक कुटनीतिक सम्बन्ध छैन । यद्यपि, ताइवान सम्बन्ध ऐनअन्तर्गत अमेरिकाले ताइवानको सुरक्षा गर्ने उल्लेख छ र सोही प्रावधानबमोजिम हतियार बिक्री गर्दै आएको छ ।


















