काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ । कांग्रेसभित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनमा बढेको असन्तुष्टिलाई हेरेर तालमेल गर्नेभन्दा नगर्ने विषयमा बहस बढ्दै गएको छ ।
‘त्यसबेला कतिपय स्थानमा तालमेल गरिएका दलबाटै घात हुँदा कांग्रेसका शीर्ष तहका नेताहरूसमेत पराजित हुन पुगेको अवस्था बन्यो,’ कांग्रेस स्रोतले भन्यो । सोही परिणामबाट पाठ सिक्दै अहिले भने कांग्रेसले देशभर तालमेल नगरी आवश्यकता हेरेर मात्रै अन्य दलसँग तालमेल गर्ने नीति अघि सार्ने तयारी गरेको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालीन आवश्यकता हेरेर निर्वाचनमा तालमेल हुने कि नहुने निधो हुने बताउँदै आइरहेका छन् ।
उनले आइतबार जनकपुरमा आयोजित नेता कार्यकर्तासँगको भेटमा भने आगामी निर्वाचनमा तालमेल गर्ने अवस्था नरहेको बताएका थिए ।
यसैगरी, आइतबार नै एक कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले निर्वाचनमा देशभर नभई केही स्थानमा मात्रै आवश्यकता हेरेर अन्य दलसँग चुनावी तालमेल हुने सम्भावना रहेको बताएका थिए । उनी कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता हुन् ।
‘चुनावी तालमेलका विषयमा पार्टीभित्र एक मत छैन, फरकफरक धारणा आइरहेका छन्, देशैभर तालमेलको सम्भावना त नहोला, केही स्थानमा हुन सक्छ,’ सहमहामन्त्री महतले भनेका छन् ।
यसैगरी, कांग्रेस युवा नेता गगन थापालेसमेत केही दिनअघि धादिङ र चितवनमा आयोजित कार्यक्रममा कांग्रेस कोहीसँग तालमेल गरेर नभई एक्लै आफ्नै तागतले निर्वाचनमा होमिने बताएका थिए । राजधानी दैनिकबाट

















