काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौंमा पनि मनाइने गरिएको छ।
विशेषगरी तराईमा जिल्लाहरुमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रहरुमासमेत मनाउन थालिएको छ। साेही अवसर पारेर गौरीघाटमा छठी माताको पूजाका लागि छठघाट निर्माणको काम भइरहेको छ। छठ पूजा समिति कार्यालयको स्थापना गरेर त्यसको निर्माण कार्यलाई तीव्रता दिइएको हो। त्यसका लागि गौरीघाटमा पाण्डाल निर्माण गरिएको छ। बागमती नदीलाई थुनेर पानी जमाइएको छ भने पूजा गर्नेका लागि बाँसबाट पाण्डाल बनाउने काम अन्तिम चरणमा पुगेको छ।
काठमाडौंको रानीपोखरी र कमल पोखरीमा भने छठ पर्व नमनाइने भएको छ। निर्माण कार्यले पूर्णता नपाएकाले कमल पोखरीमा छठ पर्व यस वर्ष मनाइने छैन। तर गहनापोखरी, नागपोखरी, बागमती नदी किनारामा भने छठी माताको पूजा गर्न सरसफाइ गर्न थालिएको छ। त्यसैगरी पहाडी जिल्लाहरुका कतिपय नदी, किनारा र पोखरीहरुमा पनि यो पर्व मनाउनेगरी तयारी थालिएको छ।
चार दिनसम्म विशेषरुपमा मनाइने यो पर्वको पहिलो दिन ‘नहाय-खाय’ विधिबाट सुरु हुन्छ। ब्रतालुहरुले पर्व सुरु हुन एक दिनअघि नै उसिनिएका धानको चामल, कोदो, माछामासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्य वस्तुहरु नखाने चलन छ। यो विधिलाई ‘अरबा-अरबाइन’ भनिन्छ।

















