काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिबिना एमसीसी पास नगर्ने निर्णय गरेको छ।
मंगलबार पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले एमसीसी राष्ट्रिय सहमतिबिना पास नगर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
महराले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सो कुरा बताएका हुन्। ‘एमसीसीको विषयमा बाहिर जुन कन्फ्युजन भएको छ। त्यसबारेमा हाम्रो पार्टीले राष्ट्रिय सहमति कायम नभइकन र केही संशोधन नगरी अगाडि नबढाउने निर्णय गरेको छ,’ महराले भने, ‘जे गरे पनि एमसीसीका कतिपय कुराहरू आपत्तिजनक छन्। त्यसैले सबै दलको सहमति नभइकन अगाडि बढ्दैन।’
यस्तै बैठकले सर्वोच्च अदालतमा भइरहेको विवादबारे पनि नबोल्ने निर्णय गरेको महराले बताए।


















