नेपालमा काेराेना विरूद्व झन्डै १५ लाख मात्रा खोपआयो

85

काठमाडौं । नेपालमा भेरोसेल र एस्ट्राजेनेका गरी झन्डै १५ लाख मात्रा खोप आएको छ । बिहीबार दिउँसो चीनबाट १० लाख मात्रा भेरोसेल खोप नेपाल आएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा खरिद शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बिहीबार थप १० लाख मात्रा भेरोसेल खोप आएको बताउनुभयो ।

उहाँले बुधबार राति स्विजरल्यान्डबाट थप चार लाख ९२ हजार मात्रा कोरोनाविरुद्धको खोप आएको जानकारी दिनुभयो । कोभ्याक्स सुविधाअन्तर्गत र स्विजरल्यान्ड सरकारले चार लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप नेपाल आएको हो । ढुङ्गानाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत तीन लाख ४८ हजार मात्रा र स्विजरल्यान्ड सरकारले एक लाख ४४ हजार मात्रा खोप उपलब्ध गराएको हो । भेरोसेल र एस्ट्राजेनेका दुवै खोपलाई टेकुस्थित खोप भण्डार केन्द्रमा राखिएको छ ।

नेपालमा हालसम्म कोभिसिल्ड खोप भारत सरकारको अनुदान १० लाख मात्रा, भारतसँग खरिद गरिएको २० लाख कोभिसिल्ड, भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको एक लाख, कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार डोज खोप आइसकेको छ ।
त्यसैगरी भुटान सरकारको सहयोगमा दुई लाख ३० हजार, जापान सरकारले कोभ्याक्स सुविधामार्फत १६ लाख १४ हजार ७४०, बेलायत सरकारमार्फत एक लाख ३१ हजार १२० र माल्दिभ्सबाट दुई लाख एक हजार छ सय मात्रा एस्ट्राजेनेका खोप र जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० खोप नेपाल आइसकेको छ । हालसम्म नेपालमा एक करोड ६१ लाख ७३ हजार २४६ मात्रा खोप लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here