मस्को- रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोध प्रदर्शन गर्ने १४ सयभन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीहरूले पक्राउ गरेका छन्। नाभाल्नीलाई दिइएको करिब तीन वर्षीय जेल सजायको अन्तर्राष्ट्रिय रुपमा नै निन्दा भइरहेको छ।
ब्रिटेन, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युरोपियन युनियनले उक्त जेल सजायको निन्दा गर्दै नाभाल्नीलाई तत्काल रिहा गर्न आग्रहसमेत गरेको छ। अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले नाभाल्नीलाई बिना कुनै सर्त तत्काल रिहा गर्न आह्वान गरेका छन्।
मस्कोको एउटा अदालतले पुटिनका आलोचक एलेक्सी नाभाल्नीलाई पहिलाको जेल सजायका बेला राखिएका सर्तहरू उल्लङ्घन गरेको भन्दै करिब तीन वर्षको जेल सजाय सुनाएको छ। गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउमा परेका उनलाई सो समयदेखि हालसम्म हिरासतमै राखिएको थियो। गत अगस्टमा घातक विष हालेर खुवाइएपछि बिरामी परेका नाभाल्नीको झण्डै ज्यान गएको थियो र उनको उपचार जर्मनीमा भएको थियो।
नाभाल्नीको समर्थनमा बुधबारको बिहान सबेरै रुसी शहरहरुमा जुलुस निकालेका १४ सय ८ जना पक्राउ परेका थिए। ती व्यक्तिहरू प्रायःजसो मस्को र सेन्ट पिटर्सवर्गका नागरिक रहेको नागरिक अनुगमन समूह ओभीडी–इन्फोले जनाइएको छ। विगत दुई सातादेखि नाभाल्नीको गिरफ्तारीविरुद्धको देशव्यापी प्रदर्शनमा हजारौंको संख्यामा नागरिकहरू सामेल भएपछि नाभाल्नीका समर्थकहरूले यस्तो निर्णयको विरोधमा अझ बढी प्रदर्शनको आह्वान गरेका थिए।


















