मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमहरुलाई कारबाही : अध्यक्ष हुमागाईं

130

 काठमाडौं  । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमहरुलाई कारबाही गरिने जनाएका छन्।

अध्यक्ष हुमागाईंले सूचना प्रकाशित गरिसकेपछि पनि केही सञ्चारमाध्यमहरुमा मदिराजन्य पदार्थहरुको विज्ञापन प्रकाशन भइरहेको भन्दै विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई कानुनबमोजिम कारबाही गरिने जनाएका हुन्।

उनले बोर्ड अहिले विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दाताहरुलाई पत्राचार गर्ने तयार भएकाे खुलासा गरे । अध्यक्ष हुमागाईंले ऐनले मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापनमा मात्रै रोक लगाएको उल्लेख गर्दै बिक्री वितरण र उत्पादनमा रोक नलगाएको जनाए ।

‘जनस्वास्थ्य सेवा ऐन २०७५ ले मदिरा, सुर्तीजन्य पदार्थहरुको विज्ञापन गर्न रोक लगाएको छ। विज्ञापनको उत्पादन, प्रसारण, वितरण र प्रकाशन गर्न रोक लगाएको छ। हामीले यही कात्तिक २५ गते त्यस्ता पदार्थहरुको विज्ञापन उत्पादन, प्रकाशन तथा प्रसारणको काम, नगर्नू/नगराउनू भनेर एउटा विज्ञापन जारी गरेका छौँ र त्यसयता केही पत्रपत्रिकाहरुले विज्ञापनहरु प्रकाशन गरेका छन्,’ अध्यक्ष हुमागाईंले भने, ‘हामी ती प्रकाशन गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई समेत हामी पत्राचार गर्दै छौँ, यदि कुनै पनि व्यक्ति वा संस्थाले विद्यमान कानुनको प्रतिकूल कुनै काम गर्छ भने त्यस्ता व्यक्ति वा संस्थालाई सोही कानुनबमोजिम कारबाही हुन्छ।’  यता राष्ट्रिय टेलिभिजन प्रशारक संघले पनि सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा मदिराजन्य वस्तुको विज्ञापन प्रकाशन गरेकोमा विरोध गरेको छ।

राष्ट्रिय टेलिभिजन प्रशारक संघका अध्यक्ष शंकर अधिकारीले सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा बर्जित विज्ञापन प्रकाशन रोक्ने काममा विज्ञापन बोर्ड विमुख हुन नमिल्ने जनाए। उनले निजी क्षेत्रले सरकारले निकालेको सूचनालाई थ्रेट दिएर, अटेर गरेर मदिराको विज्ञापन निकाल्दा प्रशासन, राज्य र विज्ञापन बोर्डले केही गर्न नसकेको आरोप लगाए। अध्यक्ष अधिकारीले कानुनले वर्जित गरेका काम गर्नेहरुलाई कानुनबमोजिम कारबाही गर्न माग गरे।

अध्यक्ष अधिकारीले विज्ञापन बोर्डले निकालेको विज्ञप्तिअनुसार निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको जनाए।उनले कानुनमा भएको कुरालाई हुबहू लागू गराउनुपर्ने दायित्व र जिम्मेवारीमा बसेकाहरुले बढी चासो दिनुपर्ने उल्लेख गर्दै भएको कानुनलाई लागू गराउनुपर्ने जनाए। अध्यक्ष अधिकारीले सार्वजनिक सञ्चारमाध्यमहरुमा मदिरालगायत कुनै चिजहरुको विज्ञापन गर्ने कुरा कुनै किसिमले उचित नहुने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here