मध्य मङ्सिरअघि नै चिसो बढ्यो

54

काठमाडौं । यसपालि मध्य मङ्सिरअघि नै चिसो छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मध्य मङ्सिरअघि नै चिसोको कहर बढेको हो ।

विगत वर्षमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर मध्यपूर्व नै ह्वात्तै बढेको छ । जारी मङ्सिरको दोस्रो साता प्रारम्भ भएसँगै एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो हावा लगातार बहिरहेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईमा जनजीवन कष्टकर बनेको छ ।

जिल्लाको मध्य र दक्षिणी भेगमा बिहान हुस्सुले ढाक्दै आएको छ । मध्याह्नसम्म घाम देखिँदैन । यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यसपालि मङ्सिर निगल्दो नै जाडो निकै बढेको हो ।

जिल्लाको उत्तरी भेगको पूर्वपश्चिम राजमार्ग वरपर बिहानै घाम झुल्के पनि तुषारोसँगै सिरेटो चल्ने क्रमले चिसो निकै बढाएको छ । मध्य र दक्षिणी भेगमा त मङ्सिर दोस्रो साता लागेसँगै एकाबिहानैदेखि बाक्लो हुस्सुले ढाक्दै आएको छ । मध्याह्नपछि देखिने घाम पनि मधुरो हुँदा यसपालि मध्य मङ्सिरअघि नै जाडो बढेको जलेश्वर नगरपालिका–५ पर्साका रामनारायण राउत जनाए।

एक्कासी बदलिएको मौसमले व्यापार व्यवसायमात्र नभएर कृषि कार्य पनि प्रभावित छन् । मङ्सिर मध्यपूर्व नै यस्तो चिसो भएपछि यस भेगका बूढापाका पुस, माघ झन् कस्तो होला भन्दैछन् । “खै उमेरले ६० वर्ष टेक्न लागियो, मङ्सिरमै यसरी लगलगी कमाउने जाडो त त्यति भोगेको सम्झनै छैन”, भङ्गाहा नगरपालिका–४ रामनगरका ५९ वर्षीय किसान सत्यनारायण यादवले भन्नुभयो, “खै यो दुई वर्षदेखिको कोरोना त्रासले जाडो चाँडै बढाएको त हैन ?”

बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नपर्ने अवस्था बनेको छ । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here