इटालियन सिरी ‘ए’ लिगमा युभेन्टस पाँचौँ स्थानमा उक्लियाे

55

काठमाडौं । हुवान कोड्राडोले कर्नरबाट सिधै गोल गरेको खेलमा युभेन्टसले आइतबार राति इटालियन सिरी ‘ए’ लिगमा जेनोवालाई २–० ले पराजित गरेको छ । जितसँगै युभेन्टस लिगको पाँचौँ स्थानमा उक्लिएको छ ।

कोड्राडोले नवौँ मिनेटमा गरेको गोलबाट घरेलु टोली युभेन्टसले अग्रता लिएको थियो । कोड्राडोले वायाँ कर्नरबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । इटालियन सिरी ‘ए’मा २०१० पछि कर्नरबाट सिधै गोल भएको यो आठौँपटक हो । यसै साता भने कर्नरबाट सिधै गोल भएको यो दोस्रोपटक हो । यसअघि, शनिबार राति इन्टर मिलानले एएस रोमालाई ३–० ले हराउँदा हकन काल्हानोग्लुले पनि कर्नरबाट सिधै गोल गरेका थिए ।

‘‘उनले त्यो बल क्रस गरेका थिए,’’ युभेन्टसका फरवार्ड पाउलो डिबालाले भने, ‘‘हामीले पूरै खेल नियन्त्रणमा राख्यौँ । कोड्राडोले गोल गरेपछि हामीलाई सहज भयो । तर, हामीले दोस्रो गोल थप्दै सहज जित निकाल्यौँ ।’’

युभेन्टसका लागि दोस्रो गोल डिबालाले खेल सकिन आठ मिनेट बाँकी हुँदा गरेका थिए ।

जितसँगै युभेन्टसले १६ खेलबाट २७ अंक जोडेको छ । मासिमिलियानो एलेग्रीले सिरी ‘ए’मा प्रशिक्षकका रुपमा २५०औँ जित निकाल्दा युभेन्टस पाँचौँ स्थानमा उक्लिएको छ । त्यो चौथो स्थानको एटलान्टाभन्दा सात अंकले पछाडि हो भने शीर्ष क्लब एसी मिलानभन्दा ११ अंकले पछाडि हो । पराजित जेनोवा भने १० अंकका साथ रेलिगेसन क्षेत्रमा छ ।

इमोबिलको गोलमा लाजियोको जित
सिरो इमोबिलको दुई गोलप्रेरित लाजियोले गए राति साम्पडोरियामाथि ३–१ को विजय हासिल गरेको छ । सेर्गेज मिलिनकोभिच–साभिचले ६७औँ मिनेटमा दोस्रो पहेँलो कार्डको सामना गरेपछि लाजियो १० खेलाडीमा सीमित भएको थियो । तर, साम्पडोरियाले त्यसको फाइदा लिन सकेन ।

मिलिनकोभिच–साभिचले सातौँ मिनेटमा गरेको गोलबाट लाजियोले अग्रता लिएको थियो । १७औँ मिनेटमा इमोबिलले लाजियोको अग्रता दोब्बर बनाए । ३७औँ मिनेटमा इमोबिलले व्यक्तिगत दोस्रो गोल थपे । साम्पडोरियाका लागि ८९औँ मिनेटमा मनोलो गब्बियादिनीले सान्त्वना गोल फर्काए ।

जितसँगै लाजियोले १६ खेलबाट २५ अंक जोडेको छ । त्यो सातौँ स्थानको रोमासँग बराबरी हो । लाजियो चौथो स्थानको एटलान्टाभन्दा ९ अंकले पछाडि छ । लाजियोले पछिल्लो तीन लिग खेलबाट एक अंक मात्र जोड्न सकेको थियो ।

सिरी ‘ए’ का अन्य खेलमा दशौँ स्थानको हेलास भेरोनाले १६औँ स्थानको भेनेजियालाई ४–३ ले हरायो । १२औँ स्थानको सासाउलोले १७औँ स्थानको स्पेजियासँग २–२ को बराबरी खेल्यो । छैटौँ स्थानको फियोरेन्टिनाले बोलोग्नालाई ३–२ ले हरायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here