काठमाडाैं । भारतीय सेनाका Chief of Defence Staff (CDS) तथा नेपाली सेनाका मानार्थ महारथी जनरल विपिन रावत (PVSM, UYSM, AVSM, YSM, SM, VSM, ADC), उहाँकी श्रीमती मधुलिका रावत तथा अन्य ११ जना सैनिकहरुको मिति २०७८ मंसिर २२ गते भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटनामा भएको असामयिक निधनको खबरले नेपाली सेनालाई दुखी तुल्याएको छ ।
यस दु:खद घडीमा नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति हिजो साँझै फोन तथा पत्र मार्फत हार्दिक समवेदना व्यक्त गर्नु भएको थियो ।
उहाँले यस दु:खद घटनाबाट आफु स्तब्ध भएको र यसबाट भारतीय सेनालाई अपूरणीय क्षति पर्नुको साथै नेपाली सेनाले समेत एक सच्चा मित्रलाई गुमाएको उल्लेख गर्दै भारतीय सेना तथा शोक सन्तप्त परिवारप्रति समवेदना तथा दिवगंत आत्माको चीर शान्तिको कामना गर्नु भएको छ । साथै, जनरल रावतको मिति २०७८ मंसिर २४ गते नयाँ दिल्लीमा हुने अन्तिम सम्मान कार्यक्रममा प्रधान सेनापति तथा नेपाली सेनाको प्रतिनिधित्व गर्दै नेपाली सेनाका बलाधिकृत रथी बाल कृष्ण कार्की जानु हुने तय भएको छ ।
३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म भारतीय सेनाको स्थल सेनाध्यक्ष रहनु भएका जनरल विपिन रावतलाई सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारीले २९ मार्च २०१७, मा नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मानित गर्नु भएको थियो । जनरल रावत १३ फ्रेबअरी २०१८ मा सेना दिवस तथा महाशिवरात्रीको अवसरमा नेपाली सेनाले आयोजना गरेको सैनिक कार्यक्रममा समेत सहभागी हुनुभएको थियो ।


















