काठमाडौं । पूर्वमन्त्री हृदयेश त्रिपाठीले जनता प्रगतिशलि पार्टी गठन गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नयाँ दल गठन गरेको जानकारी दिंदै त्रिपाठीले अन्य दलको आलोचना गरेर आफूलाई असल देखाउने प्रतिस्पर्धामा आफ्नो रुचि नरहने जनाए ।
अहिले देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकाले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको उनले जनाए ।
पूर्वमन्त्री त्रिपाठीले संविधान संशोधन, लेखा परीक्षण,स्थानीय तहको सीमांकन, मुलुकको अर्थतन्त्र, मुख्य अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण, तराई मधेशका पारम्परिक पेशाहरुको संरक्षण, जन्मको आधारमा नागरिकता पाउनुपर्ने लगायतका कुराहरुमा आफ्नो पार्टीले वैचारिक बहस गर्ने जनाए। त्रिपाठीको नयाँ पार्टी घोषणा कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वअर्थसचिव रामेश्वर खनाल, राजनीतिक विश्लेषक तुलनारायण साहलगायत उपस्थित थिए ।

















