काठमाडौं । विवेकशील साझा पार्टीले पुँजी बजारबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्ति गैह्रजिम्मेवारपूर्ण भनेको छ।
‘विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालयसमेतको नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै ‘धितोपत्र बोर्ड: साम्राज्यवादको विकसित रूप’ भनी दिनुभएको अभिव्यक्ति पूर्णतः गैह्रजिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर गर्दै विवेकशील साझा पार्टी त्यसप्रति खेद व्यक्त गर्दछ’, सोमबार प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
‘पुँजी बजार कुनै बाह्य प्रभावबिना आफ्नै लय र गतिमा चलायमान हुनुपर्छ। बजार दुर्घटनामा पर्यो भने अरू धेरै क्षेत्रमा गहिरो असर पर्छ र अर्थतन्त्र दुष्चक्रमा फस्न जान्छ। यस तथ्यलाई मनन् गर्दै आफ्नो धारणा तत्काल सच्याउन र आइन्दा संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुन हामी नेता दाहाललाई सुझाव दिन्छौँ’, विज्ञप्तिमा भनिएको छ।

















