नेपालको राजनीतिमा पुस १ गतेको एउटा विशेष स्थान छ। पुस १ गते तत्कालिन राजा महेन्द्रले आफुसँग नभएको अधिकार प्रयोग गरेर जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए। संविधान च्यातेका थिए। कु गरेका थिए। भनिन्छ, त्यही दिन उनले त्यो सबै गर्नको लागी साइत जुराएका थिए।
६१ वर्षपछि महेन्द्रको पुष १ को कदम सम्झिरहँदा नेपालको राजनीतिलाई नयाँ सिराबाट सुरु गर्न लागेका युवाहरुको पार्टी भनेर चिनिएको विवेकशील साझा पार्टीमा पनि त्यस्तै घटना घटेको छ। रवीन्द्र मिश्रले आफ्नो पक्षको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस १ गतेनै बोलाएर पार्टीमा गणतन्त्रवादी भनेर चिनिएका नेताहरुलाई कारवाही गरेका छन्।
पार्टीका संयोजक मिलन पाण्डेलाई कारवाही गर्नको लागी स्पष्टिकरण मागिएको छ। पुस ४ सम्म स्पष्टिकरण नबुझाए पाण्डेलाई कारवाही गर्ने मिश्रको तैयारी छ। बागमती प्रदेशकी संयोजक, चर्चित नेतृ रन्जु दर्शना र अन्तराष्ट्रिय समिति संयोजक सुरेश भट्टलाई पार्टीको जिम्मेवारीबाट वर्खास्त गरिएको छ। त्यस्तै, पार्टीका वरिष्ठ नेता केशव दाहाललाई प्रशिक्षण विभाग प्रमुखबाट हटाइएको छ। साथै, संसदीय दलका नेता रमेश पौड्याललाई फिर्ता बोलाउने तयारी गरेको बुझिएको छ।
पार्टीभित्र रवीन्द्र मिश्र एक्लिदै गएर हतास मनस्थितिमा यस्तो निर्णय गरिएको आँकलन गरिएको छ। उनले आफूसँग बहुमत छ भनेर निर्वाचन आयोगमा पेस गरेको दस्ताबेजहरुमा किर्ते गरिएको प्रमाणसहित मिलन पाण्डेले निर्वाचन आयोगमा उजुरी दिएपछि निर्वाचन आयोगले रवीन्द्र मिश्रलाई स्पष्टिकरण सोधेको थियो। निर्वाचन आयोगले आफ्नो गलत निर्णय नसच्याए मिलन पाण्डेहरु अदालत जाने भनेर तयारी गरेर बसेका छन्।
रवीन्द्र मिश्रले गत साउन ११ गते पार्टीमा मार्ग परिवर्तन( विचारभन्दा माथि देश भन्ने दस्ताबेज ल्याएपछि विवाद सुरु भएको हो। युवाहरुको पार्टी, प्रगतिशील पार्टी भनेर चिनिएको पार्टीमा एक्कासी नितान्त व्यक्तिगत विचार भनेर आएको प्रस्तावले पार्टीलाई यो अवस्थामा पुर्याएको हो। उनले प्रस्तावमा गणतन्त्रलाई आयातित करार गरेका थिए। ज्ञानेन्द्रको गुनगान गएका थिए। संघीयता र पछिल्ला परिवर्तनलाई गाली गरेका थिए। त्यसपछि पार्टी मिश्रको संविधान विरोधी, परिवर्तन विरोधीहरुको पश्चगमन कित्ता र संविधानवादी गणतन्त्रवादी प्रगतिशील कित्तामा विभाजित छ।
एकचोटी फुटेर गत मंगसिरमा दोस्रोचोटी एकीकरण गरेका रवीन्द्र मिश्र र मिलन पाण्डेले एकीकरण गर्दा पार्टीलाई गतिशील, मध्यबामपन्थी, संविधानवादलाई पूर्णतः पालना गर्ने र विगतका आन्दोलनका उपलब्धीहरुलाई रक्षा गर्ने पार्टी बनाउने भनेर लिखित सहमति गरेका थिए। तर, मिश्रले एकीकरणलाई धोका दिएर राजावादी लाइन समातेपछि पार्टीमा विवाद आएको हो।


















