दिक्षित हुने विद्यार्थीहरुले ज्ञानलाई सीपसँग जाेडेर मुलुकको आर्थिक समृद्धिमा योगदान दिनुपर्छ : शिक्षामन्त्री पौडेल

115

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने जनाएका छन् । सोमवार त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने जनाएका हुन् ।

मन्त्री पौडेलले भने, ‘त्रिविका विभिन्न समस्या पहिचान गरी समाधान गर्न, गम्भीर प्रयत्न गर्नुपर्ने आवश्यक्ता मैले महशुस गरेको छु र त्रिविका शिक्षक र कर्मचारीका प्रतिनिधिहरुसँग भेटघाट तथा पदाधिकारीहरुसँग भएको छलफलका आधारमा त्रिभुवन विश्वविद्यालयको उन्नती विकास र सहयोगका लागि नेपाल सरकारको तर्फबाट सहकुलपतिको हैसियतले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्‍यक्त गर्न चाहन्छु।’

उनले दीक्षित विद्यार्थीहरुले आफूसँग भएको ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्दै मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा योगदान पुर्‍याउनु पर्ने जनाए ।

मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यक्तासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको पनि जनाए । उनले अनुसन्धानात्मक संस्थाहरुलाई अझ बढी प्रभावकारी बनाउनु पर्ने महशुस आफूले गरेको बताउँदै त्रिभुवन विश्वविद्यालयले विदेशमा बिक्ने शिक्षा नेपालमै प्रदान गरेर उच्च शिक्षा अध्ययनको व्यवस्था स्वदेशमै मिलाउनु पर्ने जनाए ।

‘ दिक्षित हुने विद्यार्थीहरुले आफूसँग भएको ज्ञानलाई सीपसँग, सीपलाई उत्पादनसँग जोड्दै मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा योगदान पुर्‍याउनु पर्छ । सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो । विश्वविद्यालयमा कुनै निश्चित समयमा हासिल गरिएको ज्ञान,सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यक्तासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी छ।’ उनले भने, ‘पछिल्लो समय नेपाली विद्यार्थीहरु विदेशमा उच्च शिक्षाका लागि जानेहरुको लर्को लागेको छ, त्रिभुवन विश्वविद्यालयले विदेशमा बिक्ने खालको शिक्षा स्वदेशमै दिन सक्नुपर्छ।’

मन्त्री पौडेलले विश्वविद्यालयबाट विद्यार्थीलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न चाहिने आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धतासमेत जनाए । उनले विदेशिन बाध्य भएका विद्यार्थीहरुलाई स्वदेशमा नै उच्चस्तरीय शिक्षा प्रदान गर्ने नेतृत्वदायी भूमिका त्रिभूवन विश्वविद्यालयले निर्वाह गर्नुपर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here