–चन्द्रप्रकाश बानियाँ
जनगणना– २०७८ समाप्त भयो । जनगणनासंगै खस जाति सम्बन्धी छलफल, बहस र विवाद पनि समाप्त भयोजस्तो छ । ठगुन्ना र खातीहरु अस्ताए । युवराज कार्की र टेकबहादुर थापाहरु दुला पसे । विष्ट र बस्नेतहरु अन्तध्र्यान भए । फेसबुकका भित्ताहरु रङ्गिन छोडे । वाद, सम्वाद र तिक्त प्रतिक्रियाहरु अलप भए । प्रतिक्रियाहरु क्रियाका परिणामहरु हुन् । क्रियासंगै प्रतिक्रियाहरु विलोप हुनु स्वभाविक हुने नै भयो । समाप्त हुनु नपर्ने खस अभियान थियो । खस अभियान सुस्ताएको हो कि निदाएको हो कुन्नी ? सदाको लागि थन्किने अवश्य छैन । पानीको फोका झैं क्षणमै अस्ताउने खालको विषय थिएन त्यो । गणनामा खस लेखाउँदैमा खस अभियानको औचित्य समाप्त भएको छैन । उद्देश्य पूरा भएको पनि होइन । खस अभियानको अभीष्ट त्यत्ति थिएन । खस अभियान पहिचानको मुद्दा हो । आत्मसम्मानको खोजी थियो । अस्तित्व रक्षाको महाअभियान हो । अधिकार प्राप्तिको लडाई हो । त्यसको लागि लामो संघर्षको आवश्यकता छ । अभियन्ताहरु अहिल्यै थाक्न पाउदैनन् । सक्तैसक्तैनन् । त्यसो भयो भने युगले सराप्ने छ । नयाँ पुस्ताले धिक्कार्ने छ ।
कहिले सकिन्छ त खस अभियान ? यो प्रश्नको जवाफ ज्योतिषिले पनि दिन सक्तैनन् । राजनीतिक विश्लेषकहरुले पनि दिन सक्दैनन् । त्यसैले यो तिथिमिति किटान गर्न सकिने विषय होइन । खस अभियानले त्यतिबेला मात्र विश्राम लिने छ जतिबेला अभियानका अभीष्टहरु प्राप्त हुनेछन् । कम्तिमा पनि खस जातिले अलग संवैधानिक मान्यता नपाउँदासम्म अभियान चलिरहने छ । चल्नुपर्छ । संविधानमा लेखिएको खस आर्यको संयुक्त क्लस्टर तोडिनुपर्छ । खस र आर्यलाई एकै जाति मान्ने संविधानको पानो च्यातिनुपर्छ । खस आर्यको संयुक्त मान्यता खण्डित हुुनुपर्छ । संविधानले खस जातिको अलग अस्तित्व प्रत्याभूत गर्नुपर्छ । खसले अलग र स्वतन्त्र जातिको मान्यता नपाउँदासम्म खस अभियान टुङ्गिदैन । कमसेकम त्यतिबेलासम्म खस अभियन्ताहरुले विश्राम लिन पाउँदैनन् ।
अभियानले खसहरुलाई “म” भन्न सिकाउनुपर्छ । म अर्थात खस भन्न भनाउनमा गौरव गर्न सिकाउनुपर्छ । जातीय गौरव र गरिमाको लागि लड्न सिकाउनुपर्छ । महत्वबोध गर्न सिकाउनुपर्छ । म भन्ने भावना केही अर्थमा नराम्रो पनि हुन्छ । तर त्यो भावनाविना कुनै मानिसको उन्नति प्रगति हुदैन । म ले अभिमानको प्रतिनिधित्व ग¥यो भने त्यो दोषपूर्ण भावना ठहर्छ । म ले स्वत्वको भावना अभिव्यक्त गर्छ भने त्यो जीवनदायिनी शक्ति सावित हुन्छ । म भन्ने भावनालाई “इगो” पनि भनिन्छ । म स्वत्वप्रतिको ममताको प्रतिक पनि हो । त्यो ममताले आफू र आफ्नोलाई माया गर्न सिकाउँछ । आफूलाई चिन्न सिकाउँछ । आफूलाई जोगाउन अभिप्रेरित गर्छ । अलग पहिचानको अभियानमा लाग्न प्रोत्साहित गर्छ । त्यसैले अहमताको तहसम्म होइन, आत्मरक्षा र आत्मोन्नतिको हदसम्म मानिसमा म भन्ने भावना रहनु आवश्यक हुन्छ । जगाउनै पर्छ । त्यस्तो भावना रहेन भने मानिस निष्क्रिय बन्छ । जीवनप्रति उदासीन रहन्छ । उदासिनता उन्नतिप्रगतिको वाधक हो । निष्क्रियताले यथास्थितिमा रमाउन सिकाउँछ । जे छ त्यसैमा रम्न सिकाउँछ । सन्तोषम् परमम् सुखमलाई जीवनदर्शन मान्न प्रेरित गर्छ । अभिष्ट र लक्षविहीन बनाउँछ ।
नेपालको राजनीतिले सामन्तवादको गजुर ढलायो तर सामन्तवादी संस्कार संस्कृतिबाट समाज मुक्त भैसकेको छैन । सामन्तवादले मानिसलाई रुढीवादी बनाउँछ । यथास्थितिबाट बाहिर निस्कनै दिदैन । वर्तमान परिस्थिति र अवस्थालाई दैवको देन मान्न सिकाउँछ । पूर्वजुनिको कमाई हो भनेर पढाउँछ । जन्मले मानिसको हैसियत सानो ठूलो हुने परम्परालाई अनिवार्य र अनुलङ्घनीय वाध्यता मान्न सिकाउँछ । सानो ठूलो जात वा धनी गरिबको कोखमा बास गर्नु पूर्वजन्मको प्रतिफल भनेर व्याख्या गर्छ । समाजमा धनीगरिब, सानूठूलो, मुर्ख विद्वान हुनुको कारणलाई पनि पूर्वजन्मको कमाई भनेर परिभाषित गर्दछ । पुरुषार्थ र प्रयत्नलाई गौण ठह¥याउँछ । आत्मोन्नतिको उद्यमलाई नकार्छ । नेपाली समाज त्यो जीर्ण मान्यताबाट पूर्णतः मुक्त भैसकेको छैन ।
सामन्ती संस्कार कति भयावह हुन्छ भन्ने कुराको एउटा सानो उदाहरण लिउँ । नेपालमा अनेकौं पार्टीहरु अस्तित्वमा छन् । तिनीहरुमध्येको एउटा हो– प्रजातन्त्र पार्टी । त्यो घोर दक्षिणपन्थी राजनीतिक समूह हो । त्यसले यथास्थितिको पक्षपोषण गर्छ । पछि फर्कनुपर्ने जिरह गर्छ । उल्टो बाटो हिँडेर स्वर्ग पुगिने तर्क गर्छ । त्यो पार्टीका संस्थापकमध्येका एकजना होनहार विद्वान नेता छन् । उनले विदेशको स्थापित विश्वविद्यालयबाट शिक्षादीक्षा लिएका छन् । राजनीति शास्त्रमा विद्यावारिधि नै गरेका छन् । विडम्बना नै भन्नुपर्छ उनले राजसंस्था पुनस्थापनाको कुरा गर्छन् । राजसंस्थालाई अनिवार्य मान्छन् । त्यो उनको शिक्षा र ज्ञान बोलेको होइन, उनको संस्कार बोलेको हो । जन्मका कारणले अर्को कुनै कुलवंशमा जन्मेको मानसिलाई आफूभन्दा ठूलो र श्रेष्ठ मान्ने संस्कार उनलाई समाजको सामन्तवादी परिवेशले दिएको हो । विश्वविद्यालयले पढाएकोभन्दा समाजले सिकाएको कुरामा उनको विश्वास गाढा छ । उनको संस्कारले राजकुलमा जन्मेको मानिस आफूभन्दा योग्य, महान र पूजनीय हो भनेर मान्न सिकाउँछ । आफूलाई उसंग तुलना गर्नै दिदैन । आफूलाई दास र राजवंशको मानिसलाई मालिक मान्न समाजले सिकाएको कुरा उनको मष्तिष्कमा उकुच बनेर बसेको छ । जन्मले नै आप्mनो हैसियत नोकरको हो भनेर मान्न अभिशप्त छन् उनी । सबै मानिसलाई समान मान्न उनको संस्कारले अनुमति दिदैन । मानिसहरुबिचको बराबरीको हैसियतको कल्पना नै गर्न सक्तैनन् । त्यसैले मालिकको पुनस्थापनाको लागि रटान लगाउँन अभिशप्त छन् ।
हो, सिङ्गो खस समाजमा पनि त्यस्तो समस्या देखिएको छ । खस एउटा कमसल जाति हो भन्ने बुझाई स्वयम खसहरुमा छ । जन्मले नै आफूलाई दोश्रो तेश्रो कित्ताको मानवको रुपमा धर्तीमा पठाइएको हो भन्ने बुझाई केही खसहरुमा विद्यमान छ । खस हुनुको मतलब दोश्रो कित्तामै चित्त बुझाउनुपर्छ, श्रेष्ठताको दावी गर्नु हुदैन भन्ने बुझाई छ । कैयौं खसहरुलाई आफ्नो कुल वंश र जातिप्रति नै घृणा छ । खिन्नता छ । त्यसैले खस भनेर होइन, क्षत्री र ठकुरी भनेर चिनिन रुचाउँछन् । अरुको सिकोमा जाति खस माने पनि क्षत्री जोड्न मन पराउँछन् । आफ्नो परिचय खसक्षत्रीको रुपमा दिन रुचाउँछन् । अर्थात खस भन्दा क्षत्री सम्मानजनक शब्दावली हो भन्ने लाग्छ । आफ्नो जातिले कैयौं पढालेखा खस विद्वानहरुलाई हीनताबोध गराउँछ । त्यसैले कैयौं खसहरुले बरु थर लेख्न रुचाउँदैनन तर सगौरव क्षत्री लेखाउँछन् । थर परित्याग गरेर क्षत्रीका रुपमा चिनाउनु नादानी मात्र होइन, एक खालको दास मनोवृत्ति पनि हो ।
“सबै कुरा छोडेर पुच्छरमा हात” भनेजस्तो क्षत्री मात्र लेखाउनु, आफ्नो जाति र थर लुकाउनु तिनै राप्रपाको विद्वान नेताले राजसंस्थाको अनिवार्यताको पैरवी गर्नुजस्तै हीनग्रन्थीको अभिव्यक्ति हो । जसरी ती नेताले जन्मका कारणले आफूलाई देशको सर्वोच्च पदका लागि योग्य मान्दैनन् र कुनै वंश विशेषमा जन्मेको मान्छेलाई मात्र त्यो पदको अधिकारी ठान्छन् त्यसैगरी क्षत्री मात्र लेख्ने लेखाउने खसहरुले पनि आफूलाई दोश्रो तेश्रो दर्जाको मान्छे ठान्छन् । त्यो कोटीका खसहरुलाई क्षत्री जोडन पाउदा संसार जितेजस्तो लाग्छ । वैदिक मान्यताले क्षत्रीलाई दोश्रो कित्ताको मान्छ भन्ने कुराको जानकारी भएको हुनाले तेश्रो हुन नपरेकोमा गौरव गर्छन् । जसरी विश्वकर्माहरुले दर्जी र परियारभन्दा आफ्नो जात ठूलो भनेर नाङ्लो जत्रो छाती बनाउँछन्, खसहरुले क्षत्री भनाउँनमा त्यस्तै अनुभूति गर्छन् । बाहुनभन्दा तल पर्नु परे पनि वैश्य शुद्रभन्दा उपल्लो जातिको भएकोमा गर्व गर्छन् ।
नेपालको संविधानमा खस जातिलाई आर्यसँग जोडिएको छ । सदाशय राखेर त्यसो गरिएको होइन । त्यसभित्र षडयन्त्र छ । एउटा जाति मास्ने षडयन्त्र छ । “सुत्केरीको निहुँ पारी टाउको मैले खाएँ” भनेझैं खस आर्यको नाममा प्राप्त हुनसक्ने समानुपातिक सहभागिताको कोटा लुड्याउने षडयन्त्र छ । खसको काँध चढेर सिंहासनारुढ हुने षडयन्त्र छ । खस जातिलाई सदाकाल दास बनाउने षडयन्त्र छ । भाग खोस्ने षडयन्त्र छ । दुहुनो गाई बनाउे षडयन्त्र छ । नत्रभने सयौं वर्षदेखि बराबरीको सामाजिक सम्बन्धदेखि हटक गरिएको खसलाई अर्यको हाराहारीको स्थान संविधानमा किन दिइन्थ्यो र ? तर सधैं दाम्लोमा बाँधिने गरेको पशुले दाम्लो छिने पनि टाट्नो छोड्दैन भनेजस्तो खसहरुले क्षत्री रुपी टाट्नो छोड्ने हिम्मत राख्दैनन । मानिस आदतको दास हुन्छ भनिन्छ । खसहरु पनि जात र धर्मरुपी दाम्लोका आदि भैसकेका छन् । त्यसैले त्यो दाम्लो र साङ्लोबाट मुक्त हुन चाह्ँदैनन् । त्यस्तो कल्पना नै गर्न सक्दैनन् ।
मानिस न जन्मले सानो ठूलो हुन्छ न जातिले । मानिस नाङ्गो जन्मने मात्र होइन, ज्ञान र विवेशसून्य पनि जन्मन्छ । बाहुनको कोखमा जन्मने बालक र शुद्रको कोखबाट धर्तीअवतरण गर्ने बालक प्राकृतिक रुपमा समान हुन्छन् । जन्मले कसैलाई योग्य वा अयोग्य बनाउँदैन । जन्मैले जर्नेल हुने व्यवस्था राणाशाहीले गरेको थियो । त्यसैगरी जन्मैले ब्राह्मण हुने व्यवस्था बाहुनले नै बनाएका हुन् । बाहुनको घरमा जन्मदैमा श्रेष्ठता हासिल गर्ने गुण आउने होइन । त्यसैले क्षत्रीको वंशमा जन्मनु पनि गौरव गर्नुपर्ने विषय होइन । उसै पनि क्षत्री दोयम दर्जाको जात हो । दोयम भनेको अब्बल होइन, मध्यम हो । दोयम हुनुमा गौरव गर्नु कुन बुद्धिमत्ता ठहर्छ र ? दोयममा गौरव गर्नु भनेको आफूभन्दा तल हेरेर आत्मतुष्टि लिने हीनभावना हो ।
पहिलो लहरमा उभिने कि दोश्रो लहरमा चित्त बुझाउने ? जन्मै खोटो भनेर आत्मसन्तोष गर्ने कि पहिलो लहरमा उभिने हक खोज्ने ? पहिलो लहरमा उभिने हो भने आफ्नो जाति स्थापित गर्नुपर्छ । सबै जाति समान भन्ने मान्यता स्थापित गर्नुपर्छ । जन्मलाई घृणा गर्ने परम्परा तोड्नुपर्छ । “खस” खस नै हो । खसहरुको देश बदलिन सक्छ, नागरिकता बदलिन सक्छ । धर्म बदलिन सक्छ तर जाति बदलिदैन । खस आर्यको अंश र वंश होइन । नेपालको सन्दर्भमा खस भनेको राणाकालीन व्यवस्थाको छैटी अंश पाउने अवैध सन्तान जस्तो भएको छ । अवैध सन्तानलाई जीविकाको लागि निगाहमा सानो अंशभाग दिने कानुूनी प्रावधान थियो । वैध सन्तानले जस्तो समानताको आधारमा अंशभाग पाउँदैनथ्यो । मासको गेडो फोडी, तिलको गेडो घोटी अंशभाग लगाउनुपर्ने मान्यतामा उनीहरु पर्दैनथे । त्यत्तिकै हैसियत पनि खसहरुको यतिखेर छैन । खसलाई खसआर्यको भागबाट सानो भन्दा सानो अंश दिनैपर्नै वाध्यात्मक व्यवस्था छैन ।
राज्यबाट प्राप्त हुने जातिगत सेवा सहुलियत त सानो कुरा हो । त्यो भन्दा महत्वको विषय जातिपहिचानको हो । जसरी जनजाति मधेसीहरुले पहिचानको माग गर्दा खसहरुले विदेशीको उक्साहटमा उम्लिएका विखण्डनकारी भनेर आरोपित गर्ने गरेका थिए, यतिखेर खसहरुले त्यही नियति भोग्दैछन् । आर्य र खस एउटै जाति हो भनेर पुष्टि गर्ने आधार प्रंमाण नापएपछि विषयान्तर गर्नका लागि लगाइने आरोप बनेको छ इसाइयत्, डलर र विदेशी उक्साहट् । न कुनै धर्म विशेषको यो मामलामा चासो छ न कुनै विदेशीको रुचि रहनुपर्ने विषय हो यो । संसार आफैमा मस्त छ, व्यस्त छ । अरुको बारेमा चिन्ता र चासो लिने फुर्सद कसलाई छ र ? नेपालका एकथरी स्वघोषित विद्वानहरुमा सारा संसार नेपालको उन्नति अवनतिको तमासामा ध्यान केन्द्रित गरेर बस्छ भन्ने भ्रम छ । नेपालको हरेक घटना परिघटना विदेशीको इशारामा हुन्छन् भन्ने भ्रम छ । हरेक सत्तापलट र गद्दीरोहणमा विदेशी चलखेल र षडयन्त्र देख्छन. । भुस्याहा कुकुर रेविज लागेर म¥यो भने पनि कुन विदेशीको हात छ भनेर घोत्लिन थाल्छन् । उत्तर वा दक्षिणको हात रहेको दावा गर्छन् । त्यो एक किसिमको फोविया हो । हो, त्यस्तै फोवियाग्रस्त मानिसहरु खस अभियानको विपक्षमा पनि लागेकै छन् । तिनको दुष्प्रचारलाई चिरेर खस समाजलाई बाटो देखाउने कार्य अधुरै छ । त्यस अर्थमा खस अभियन्ताहरुले विश्राम लिने बेला भएको छैन । खस जागरण अभियानको गन्तव्य नजिक पनि छैन, सरल पनि छैन । त्यसैले लगे रहो मुन्नाभाइ ! लगे रहो !!-जनधारणा साप्ताहिकबाट


















