खस जागरण अभियानमा देखापरेको अन्योल र अलमल

45

–चन्द्रप्रकाश बानियाँ

जनगणना– २०७८ को पूर्व सन्ध्यामा आफूलाई क्षत्री भनाउँदै आएका खसहरुमा दुई अलग कित्ता देखा परेका थिए । एकथरीले आफूलाई क्षत्री, हिन्दू र खसआर्य मान्ने र अर्कोथरीले खस, गैरआर्य र अहिन्दू मान्ने । आफ्नो जाति खस हो भन्ने चेतना अलिकता जागेका खसहरुले “खसक्षत्री”को नाममा संगठित हुने प्रयत्न निकै अघिदेखि गर्दै आएका थिए । जनगणनाकै सम्मुखमा आइपुग्दा त्यही संगठनमा पनि चिरा परेजस्तो देखियोे । संस्थाको औपचारिक निर्णयविना नै एकजना पदाधिकारीले जनगणनामा “जात” क्षत्री र “धर्म” हिन्दू लेखाउने उर्दी खसहरुका नाममा जारी गरेछन् । उनको उर्दी सामाजिक सञ्जालहरुमा भाइरल भएपछि संस्थाकातर्फबाट औपचारिक खण्डन प्रकाशित भयो । संस्थाको तर्फबाट खण्डन मात्र प्रकाशित भएन, संस्थाको निर्णयविरुद्ध वक्तव्य प्रकाशित गर्ने पदाधिकारीलाई संस्थाबाट निष्काशनसमेत गरियो । त्यसको अर्थ कि त संस्थाका सबै सदस्यहरुलाई संस्थाको मान्यता र धारणाको बारेमा जानकारी रहेनछ कि भने धर्म र जातिको बारेमा संस्थामा एकमत रहेनछ भन्ने बुझियो ।

संस्था स्थापनाकालमै ती विषयहरुमा स्पष्टता थियो भन्न सकिन्न । त्यसका पदाधिकारीहरु धर्म र जातिको बारेमा स्पष्ट थिएनन् । एकता पनि थिएन । संस्थाले स्पष्ट धारणा बनाएकै थिएन । “संगिनीको देख्छु, रहरले मर्छु” भनेजस्तो अन्य जाति जनजातिहरुका संगठनहरुको सिकोमा संस्था स्थापना गरिएको थियो । संस्थापकहरु आफै अस्पष्ट थिए । अ्न्योलमा थिए । धर्म र जातिको बारेमा विचार मन्थन भएकै थिएन । विषयमा स्पष्टता हुन्थ्यो भने संविधानमा “खस आर्य” नामको वर्णशंकर जातिको न्वारान हुँदा लडाई जितियो भनेर हर्ष बढाई गरिदैनथ्यो । संविधानमा खस शब्द छिराउन पाउँदा घिरौंलाजत्रो नाक बनाउने थिएनन् ।

खसहरुले निकै ढिलोगरी हिन्दू धर्म ग्रहण गरेको कुरा ऐतिहासिक सत्य हो । खसहरुले हिन्दू धर्म संस्कृति अवलम्वन गरेको चानचुन ५ सय वर्ष मात्र भएको छ । खसहरु हिन्दू बने, जनै ग्रहण गरे । जनैविना नै पनि हिन्दूधर्म लिन नमिल्ने हुदैनथ्यो । जनैविनाको हिन्दू धर्मान्तरणले खसलाई शुद्र बनाउँथ्यो । खसहरुको सामुहिक धर्मान्तरको उद्देश्य उच्च वर्ण प्राप्त हुने लोभ थियो । त्यही कारणले हिन्दू धर्मसंगै खसहरुले जनै पनि स्वीकार गरेका थिए । जनै धारण गरेर खसहरुले वैश्य वर्णको मान्यता पाएका थिए । खसहरुलाई जबर्जस्ती धर्मान्तरण गराइएको होइन । राज्य वा धर्माधिकारीहरुले करबलले खस समुदायलाई हिन्दू बनाएको पनि होइन, जनै भिराएको पनि होइन । उचो जातिको लोभमा स्वेच्छाले नै खसहरु हिन्दू बनेका थिए । जनै भिरेका थिए । त्यसवापत खसले वैश्य वर्णको हैसियत पाए, पुरेतहरुले यजमान पाए ।

खसहरुले जनै भिर्नुपूर्व ठकुरीहरुले जनै भिरेर क्षत्री भैसकेका थिए । त्यसरी क्षत्री हुने ठकुरीहरुमा खसहरु पनि थिए । ठकुरीहरु राजा वा राजाका नातेदार हुने हुनाले सबै जनै भिरेर क्षत्री भए । बिसौं शताब्दीको प्रारम्भमै नेपालको राज्यसत्ता जङ्गबहादुर कुँवरको हातमा पर्न गयो । स्वभावतः उनलाई ठकुरी बन्न मनलाग्यो । क्षत्री भनाउन मन लाग्यो । ठकुरी क्षत्रीको मान्यता पाउनका लागि ठकुरीहरुसंग विहेबारी चलाउनु प¥यो । जङ्गबहादुर खस थिए । वैश्य थिए । जङ्गबहादुर शक्तिशाली भएकोले उनको इच्छाको अनादर दरबारले गर्न सक्तैनथ्यो तापनि जातको प्रश्न उठायो । वैश्यसंग विहेबारी चलाउन अन्कनायो । दरबारसंग सोलीडोली चलाउनका लागि जङ्गबहादुरले आफ्नो मात्रै होइन, जनै भिरेका सबै खसहरुको जात एक तह माथि उकालिदिए । त्यस घटनापछि खसहरु सबै क्षत्री भनिन थाले । खस र क्षत्री पर्याय मानिन थाल्यो ।

खस र क्षत्रीले समान समाजिक मान्यता पाउन थाल्यो । खस भन्नु र क्षत्री भन्नुमा ठूलो सानो वा भिन्न भन्ने अर्थ लाग्न छोड्यो । क्षत्री र खस समानार्थी शब्द मानिने परम्परा भएको समाजमा जातको संगठन बनाउँदा “क्षत्रीसंग खस किन जोड्नु पथ्र्यो र भन्ने प्रश्न उठ्नु स्वभाविक हुने भो । त्यसको विशेष अर्थ थियो । नेपालमा कम्तिमा पनि ५ किसिमका क्षत्रीहरु थिए । ठकुरी क्षत्री, खस क्षत्री, वैदिक (राजपुत) क्षत्री, खत्री क्षत्री र राज्यबाट जनै प्राप्त गरेका जनजाति क्षत्रीहरु । आफूलाई ठकुरी नमान्ने, वैदिक क्षत्री नमान्ने र पछि जनै लगाएर बनेका जनजाति क्षत्रीहरुभन्दा फरक मान्नेहरुले आफूलाई खसक्षत्री भनेर चिनाउन रुचाउनुको परिणाम थियो –खसक्षत्री एकता समाजको गठन । उनीहरुले खत्रीहरुसंग भने परहेज गर्दैनथे । त्यसैले खसक्षत्री समाजको संगठनमा खस र खत्रीहरु आबद्ध थिए । यस अर्थमा खस क्षत्रीहरुको संगठन निर्माण भएको थियो ।

क्षत्रीहरुमध्ये पनि खस क्षत्रीहरुको मात्र संगठन “खस क्षत्री एकता समाज” थियो । खस मूलका क्षत्रीहरुलाई मात्र गोलबन्द गर्ने उद्देश्यबाट समाज गठन भएको थियो । त्यस्तो नाम र संगठनले खसहरुलाई अलग पहिचान दिने छ भन्ने मान्यता संस्था संस्थापकहरुको थियो । आफूलाई आर्यभन्दा फरक कित्तामा उभ्याउने खसहरुको चेष्टा थियो त्यो । समान उद्देश्य राख्ने खसहरुको दुईवटा संगठन बनेका थिए । समयक्रममा ती दुई संगठनबिच एकता भयो र “खस क्षत्री एकता समाज” बन्यो । यसरी आफूलाई खस मान्ने क्षत्रीको प्रतिनिधि संगठन बन्न गयो ।

नयाँ संविधानमा गरिएको खस–आर्यको परिभाषाले खस क्षत्री एकता समाजको धारणा र मान्यतालाई स्वीकारेन । पहाडी ब्राह्मण, क्षत्री, दशनामी र ठकुरीलाई खस– आर्य जाति भनेर सगोलमा राखिदियो । ती चारैथरीलाई खस–आर्य जातिको परिभाषा भित्र समेटियो । त्यसो गर्नुको मुख्य दुईवटा उद्देश्य थियो । पहिलो र महत्वपूर्ण कुरा खस जातिको अस्तित्व नामेट गर्नु थियो । अर्को उद्देश्य शैक्षिक, आर्थिक र चेतनाको दृष्टिले निकै पिछडिएको अवस्थामा रहेको खस समुदायलाई साथमा राखेर देशको सबभन्दा ठूलो जाति आफ्नो देखाउने ब्राह्मण प्रपञ्च थियो । त्यसले सत्तामा वर्चस्व राख्न मद्दत गर्दथ्यो । साथसाथै राज्यबाट प्रदान गरिने समानुपातिक सेवासुविधामा पनि लामो हात गर्न पाइन्थ्यो । निकै ढिलो गरेर खस क्षत्री एकता समाजले त्यो जालसाँज बुझ्यो । विद्रोह गर्नुपर्ने आवश्यकताबोध ग¥यो । त्यही सन्दर्भमा आर्य र खस एउटै जाति होइन, खस अलग जाति हो भन्ने आवाज उठाउन थालेको हो ।

खस अलग जाति हो र आर्यसंग जोड्नु गलत हो भन्न थालेपछि खसहरुसमक्ष त्यसो हो भने आर्य संस्कृति संस्कार किन मानेको, आर्य होइन भने धर्म कुन हो त ? सामाजिक जातीय परम्पराहरु कुन हुन् त भन्ने प्रश्न आर्यपक्षबाट उठाउन थालियो । वर्षौवर्षदेखि मान्दै आएका सामाजिक रीति परम्पराहरु आफ्ना होइनन् भने किन मानेको भन्ने प्रश्न उठाउन थालियो । जाति फरक हो भने रीति, संस्कृति, संस्कार फरक होलान्, रीति संस्कृति फरक हो भने धर्म पनि फरक होला भनेर छेडछाड गर्न थालियो । सबै कुरा मिल्छ भने जाति मात्र फरक कसरी हुनसक्छ भन्ने प्रश्न पनि उठाउन थालियो ।

व्यवहारमा हिन्दू परम्परा, संस्कार र संस्कृति अँगालेको खससमाज अप्ठेरोमा प¥यो । आफूसँग जोडिएको क्षत्रीले स्पष्टरुपमा हिन्दू धर्मालम्बी प्रमाणित गर्दथ्यो । क्षत्री भन्नासाथ हिन्दू भन्ने अर्थ लाग्दथ्यो । चार वर्ण (जात) को व्यवस्था हिन्दू समाजमा मात्र अभ्यासमा छ । हिन्दूबाहेक  अन्य धर्ममा जात व्यवस्था छैन । क्षत्री लेख्दा भनाउँदा स्वतः हिन्दू होइने र हिन्दू भन्नासाथ आर्यसँग कित्ताकाट गर्न नमिल्ने सम्भावनाले खसहरुलाई अत्यायो । आर्यजातिसँगै हिन्दू धर्मसंग पनि पारपाचुके लिनुपर्ने अवस्था उत्पन्न भयो । क्षत्रीमा उक्लिसकेका कैयौं खस क्षत्रीहरुलाई क्षत्री परित्याग गरेर खस मात्र भनाउन रुचिकर लागेन । क्षत्री छोड्दा जातविहीन बन्नुपर्ने र संस्कार परम्पराहरु छोड्दा धर्मविहीन बन्नुपर्ने अवस्था उत्पन्न हुन्थ्यो । अलग जातिको दावी गर्दा धर्म र जात दुबैबाट च्यूत हुनुपर्ने कुराले खसहरुलाई धर्मसंकटमा पारिदियो ।

खसजातिका क्षत्रीहरु आफ्नो अलग जाति पहिचान स्थापित गर्न त चाहन्थे तर धर्म संस्कृति नछोडेसम्म आर्यसंग अलग हुन सकिदैनथ्यो । धर्म संस्कार त्यागेरै भए पनि आर्यसंग कित्ताकाट गर्नैपर्ने आवश्यकताबोध गरेका खस क्षत्रीहरुले हामी आर्य होइनौं र हाम्रो मौलिक धर्म पनि हिन्दू होइन भन्ने मान्यता अघि सारे । खस जातिको परम्परागत मौलिक संस्कृति मष्टो पूजन थियो । त्यही संस्कृति र परम्परा नै हाम्रो आफ्नो धर्म हो भनेर अँधेरोमा ढुङ्गा हान्यो । त्यसले खससमाजमा एउटा जबर्जस्त तरङ्ग सिर्जना ग¥यो । ठूलै संख्यामा खसहरु आफ्नो धर्म मष्टो र जाति खस मान्न तयार भए । जनगणनामा लेखाउन जम्जमाए ।

बिर्सन नमिल्ने कुरा के हो भने खसहरुलाई क्षत्री लेखाउने वा भनाउने हक छ । त्यस्तो हक राणाशाहीले दिएको हो । त्यसैले खस क्षत्री भनाउन मिल्छ । लेख्न लेखाउन मिल्छ । अर्थात जाति फरक भए पनि धर्मले आर्यसंग एकताको सूत्र जोडिने भयो । आर्यसंग साइनो जोडिँदा खसको हैसियत दोयम रहन्छ । दुई नम्बरको जातिको मान्यता स्वीकार्य छैन । दुई नम्बरको जातले न्याय गर्दैन । नैसर्गिक हक दिदैन । आर्यसंग जातिगत भिन्नता छ भने त्यो खुट्टिनु जरुरी छ । त्यसैले खस जातिलाई चाहिएको आर्यसंगको सम्बन्ध विच्छेद हो । आर्यसंग अलग देखिनका लागि हिन्दू धर्मले भिडाएको क्षत्री जात त्याग्नु जरुरी देखियो । जात जनाउने शब्द क्षत्रीसंग पारपाचुके नगर्दासम्म आर्य र खसको अलग अस्तित्व देखिदैन । क्षत्री जात त्याग्नका लागि हिन्दू धर्म पनि त्याग्नुपर्ने आवश्यकता देखियो । आफूलाई अहिन्दू भनाउनुपर्ने भयो । त्यसका लागि पनि केही खसहरु तयार भए तर त्यसको नेतृत्व गर्ने अभियन्ता खस क्षत्री एकता समाज भने अन्योलमै छ ।

खस क्षत्री एकता समाजले आफ्नो संस्थाको नामबाट “क्षत्री” हटाउने हिम्मत गरको छैन । आर्य र हिन्दू होइन पनि भन्ने क्षत्री पनि लेख्न नछोड्ने गँगटे प्रवृत्ति अभियन्ताहरुको नादानी मात्रै हो कि हिन्दू धर्मप्रतिको आस्था हो कुन्नी ? खसहरुलाई रोजेर जुनसुकै धर्म अवलम्बन गर्ने अधिकार छ । स्वतन्त्रता छ । धर्म स्वेच्छिक विषय हो । खसहरु हिन्दू रहिरन सक्छन् । धर्मत्याग गरिहाल्नुपर्ने वाध्यता छैन । तर हिन्दू धर्म नछोडेसम्म न आदिबासी भन्ने दावा पुग्छ न अलग जातीय अधिकार खोज्ने हक पुग्छ । हिन्दू धर्म परित्याग नगर्दासम्म संविधानमा परेको खस आर्यको संयुक्त मान्यतामाथि प्रश्न उठाउन मिल्दैन । अलग जातिको मान्यताको माग गर्न पनि मिल्दैन । खस आर्य नामको वर्णशंकर जातिप्रति खस क्षत्रीबाहेक अरुको कुनै गुनासो छैन । ठकुरी, दशनामाीहरुको असहमति छैन । ती दुई समुदायलाई आर्यको कित्तामा छोडेरै भए पनि खस क्षत्रीहरु बाहिरिने हो भने “क्षत्री” वर्णको मोह त्याग्नुपर्छ । खसक्षत्री एकता समाजको नामबाट क्षत्री हटाइनु पर्छ ।-जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here