नेपाल बलियो प्रतिद्वन्द्वी : प्रशिक्षक फ्रान्कोइस

123

काठमाडौं । अफ्रिकी राष्ट्र मरिसस फुटबल टोलीका मुख्य प्रशिक्षक टोनी फ्रान्कोइसले नेपाल बलियो प्रतिद्वन्द्वी भएको जनाएका छन्।

नेपालविरुद्धको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि मरिससको टोली पहिलोपटक सोमबार नेपाल आइपुगेको छ।

मरिससको टोली दिउँसो १ः४५ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएको हो। उनीहरुलाई एन्फा मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गरे।विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै फ्रान्कोइसले गत असोजमा माल्दिभ्सको राजधानी मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले खेलेका खेलको भिडियो अध्ययन गरेको भन्दै कमजोर प्रतिद्वन्द्वीको रूपमा नआकेको जनाए।

‘नेपालले साफ च्याम्पियनसिपमा खेलेको भिडियो हामीले हेरेका छौं। नेपाल बलियो प्रतिद्वन्द्वी हो,’ उनले भने। उनले नेपालविरुद्धको यो मैत्रीपूर्ण खेलले अफ्रिकन कप अफ नेसन्स छनोट प्रतियोगिता खेल्न फाइदा पुग्ने विश्वास लिएका छन्। प्रतियोगिता मार्चबाट सुरू हुनेछ। त्यसकारण पनि यो दुई खेल महत्त्वपूर्ण हुने उनको भनाइ छ।

मरिसस र नेपालले माघ १५ र १८ गते दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्नेछ।  प्रशिक्षक फ्रान्कोइसले आफ्नो टिमको एक महत्त्वपूर्ण खेलाडी कोरोना संक्रमणका कारण नेपाल आउन नपाएको बताए। अन्य केही खेलाडी पनि घाइते भएकाले पूर्ण फिट नभएको जनाए ।

मरिससका टोलीले अब कोरोना परीक्षण गर्नेछ। त्यसपछि उनीहरुको प्रशिक्षण तालिका राखिनेछ।

नेपालले पहिलोपटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। हाल फिफा वरियताको एक सय ७२औं स्थानमा रहेको मरिससले नेपालसँग जितको लक्ष्य राखेको छ।

मरिससविरुद्धको खेलका लागि नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि ३४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन्। नेपाली टोली अहिले एन्फा कम्प्लेक्स सातदोबाटोमा बन्द प्रशिक्षणमा छ। नेपाली टोलीका नियमित फरवार्ड नवयुग श्रेष्ठ घाइते भएका छन्। त्यस्तै, आयुष घलान पनि टोली बाहिरिएका छन्। यद्यपि, बिमल घर्तीमगर र जगजित श्रेष्ठले टोलीमा पुनारागमन गरेका छन्। उनीहरूलाई नयाँ खेलाडीहरूले पनि साथ दिनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here