कृति समीक्षा
उपहार बन्यो आँसुभित्र पस्दा
– अरुणबहादुर खत्री “नदी”
“उपहार बन्यो आँसु” नामक खण्डकाव्य साहित्यकार एवं कवि बाबुराम न्यौपाने “उत्स”को २०७४ सालमा दोस्रो कृतिको रुपमा प्रकाशित भएको छ । यसभन्दा अगाडि उनको भावना बोल्छ पर्दा खोल्छ नामक कवितासङ्ग्रह २०७३ सालमा निस्केको थियो । यस सङ्ग्रहभित्र प्रतीक्षाको पतिलाई सन्देश, प्रतीक हवाइजहाज चढ्छ, प्रतीक्षाको बिरही मन, प्रतीक्षाको मनोसम्वाद लगायत विभिन्न शीर्षकका १३ वटा कविताहरु रहेका छन् । समयको सुलेली शीर्षकको पहिलो कवितामा विदेशीनु रहर होइन, स्वदेशमा रोजगार छैन अवसरको खडेरीमा रोई बस्नु ठीक होईन भनिएको छ । भाषिक सरलता र सहजताका कारण शब्दले दिने अर्थ सजिलैसंग बुझ्न सकिन्छ । कथ्यको प्रभावकारिताका लागि समाज, इतिहास, पुराण र प्रकृतिबाट सादृश्य र बिम्बहरु लिइएका छन् । उखान र टुक्काको प्रयोग पनि गरिएको छ भने ठाउँ ठाउँमा सूक्तिमय अभिव्यक्ति भएका छन् । उपमा, रुपक, उत्प्रेक्षाजस्ता अर्थालङ्कार र अनुप्रासादि शब्दालङ्कारको उपयोग पनि गरिएको देखिन्छ ।
युरोप र अमेरिका सपना र स्वर्ग भए
ढोका खुले सबै सबै, उतै जान हतारिए
भोट, लाहोर छिचोलेर, अरब पारि पाईला बढे
सुन्दर देशको वैभव शान, असरल्ल बनिरहे ।
विदेशिनु बाध्यता शीर्षकको कवितामा विदेश जान बाध्य छ दिदी फल्छ कि बोटमा पैसाको बिटो युवती लर्को उतै हानिन्छ भोक र प्यास चाहना चुलिन्छ भनेर बेदना पोखिएको छ । नेपाली कविताको इतिहास उति लामो नभए पनि यसले छोटै अवधिमा कठोर अभ्यास गरी आजको यो अवस्थासम्म आइपुगेको छ । अझ गद्य कविताको कुरा गर्दा वि.सं. १९९१ बाट गन्न थाल्दा आज हामी सतासी वर्षसम्म मात्र पुग्दछौं । छाडेर पर जाँदैछु किन, स्वर्गको आँगन आँगनको खुशी छाडेर जाने थिएन चाहना कविले भनेका छन् । मुटु चल्न रगत चाहिन्छ शरीर हिँडाउन तागत व्यवहार चलाउँन पैसा, धन जीवन भोग्न आगत ।
मेरा आँसु पुच्छने प्यारा
विदेशमा के गर्दैछन्
जीवनको गर्जो टार्न
दुई चार पैसा कमाउँदैछन् ।
कवि बाबुरामको कवितामा पाएको मूल कुरा काव्यिक इमान्दारिता र मौलिक बिम्बको खोजी हो । कवि बाबुरामको यो खण्डकाव्य युगान्तरको एक सुन्दर शब्दचित्र हो । यसमा समावेश गरिएका कविताहरु पढिसकेपछि पाठकलाई धेरै समयसम्म विविध किसिमका चिन्तनमा डुबाउन सक्ने क्षमता यसभित्र सङ्ग्रहित प्रत्येक कविताले राखेका छन् । यसले विविध किसिमका मननीय र विचारणीय विचार संप्रेषण पनि गर्न सकेको छ । कवि बाबुराम आफ्ना सृजनाहरुमा जहिले पनि कोशिस गरिरहेका हुन्छन् कि बिचारहरु निरासावादी नभएका सकारात्मक सन्देशमूलक हुन् । गहभरि आँसु बोकी, बाटो हेर्दै टोलाउँछु यौवनका इच्छा रहर, मनभित्रै दबाउँछु प्रतीक्षाको विरही मन शीर्षकको कवितामा लेखिएको छ ।
यस सङ्ग्रहभित्रका कवितामा उनी यति कारुणिक बिम्बहरुसँग खेल्दै बगेका छन् एउटा साचो मनका कोमलता र संवेदनशीलता थोरै शब्दहरुमा सम्पूर्ण अभिव्यक्ति पोखेर प्रवाहित भएका छन् । नेपाली हुनुको गरिमाबोध कविमा छ । कविताहरुमा प्रयोग भएका बिम्ब र प्रतीकहरुले कविको कतित्वशक्तिको ऊर्जामा राम्रो प्रकाश पारेका छन् । प्रयोग गरेका शब्द र कवितामा सन्निहित भावहरुले प्रतिकात्मक रुपमा देश, काल, वातावरण, आन्तरिक र वाह्य परिवेश र परिस्थितिका अनेकौ पक्षमाथि प्रकाश पार्दै आधुनिकताका नाममा मानिसले अपनाउनु परिरहेको देखिन्छ । देश र समाजको दुर्दशा शीर्षकको कवितामा न भेट्न दिन्छ न दिन्छ बोल्न भाषाको पिरलो वकिलको तर्क पैसाको पल्ला उतै छ उकालो भनिएको छ ।
फोनको घण्टी गुञ्जन्छ कानमा क्षेणमा खुला पोल
गाउँ र शहर हुँदैछ नजिक, संचारको जादू खेल
कवि बाबुरामका प्रकृतिपे्रममा आधारित कवितामा स्वच्छन्द प्रकृतिचित्रण पाइन्छ । कवि बाबुरामका कविता स्वेरकल्पनाभन्दा बढी जीवन भोगाइलाई बोकेका यथार्थपरक कविता हुन् । उनका केही कविताले पारस्परिक शैलीमा उपदेश पनि दिएका छन् । यस्ता उपदेशलाई काव्यिक पाराले अभिव्यक्त गर्दा कविता बढी शक्तिशाली सामान्य सीमाहरुका बाबजुद, जीवन भोगाइका यथार्थ अनुभूतिहरुमा चुर्लुम्म भिजेको पाइन्छ । यसकिसिमका ओजस्वी कविताहरु नेपाली काव्यिक आकाशले पाएको छ । घरको मालिक इज्जत लुट्छ देश छ बिरानो महल भव्य लाग्दछ जेल सके त के जानु उनले कवितामा लेखेका छन् । विमला बोलिन् बेदनाा खोलिन् चौतारी चर्चा छ धनको पोको जीवनको धोको मनभित्रै हराउँछ उनको कविताले भनेको छ ।
सविता गएको भयो सात वर्ष
किन फोन बन्द भो सल्बलाए तर्क
फूलको मन आँसु चुहाउँछ
विदेश जाँदा के मान्नु हर्ष ।
कविता संरचनामा एकातिर भाव संयोजन, वाक्य सुगठन शब्द, वाक्य वा भावगत अर्थ र विषयवस्तुको महत्व हुन्छ भने अर्कातिर लयात्मकता शीर्षक जस्ता कुराको प्रभाव हुन्छ । ती सबैको प्रयोग तिनको प्रकृति र प्रभावबाट कवितारस परिपाकको अवस्थामा पुग्छ । कवि बाबुरामले समसामयिक समाजको यथार्थ, मानिसका जिजीविषा र जीवनशैली अनि यसका सापेक्षतामा जीवनका विविध विषमता, अन्तद्र्वन्द्व, नैराश्य आदिको सूक्ष्म अध्ययनको परिचय दिएका छन् र थोरै शब्दमा कविता लेखेर धेरै शब्द बताएका छन् । रस परिपाककै आधारमा कविताको स्तर र मूल्य निर्धारण हुन्छ गरिन्छ । यो कृतिको मूल्य र स्तर पनि यिनै आधारमा आधारित रहेर निर्धारण गरिनुपर्ने हुन्छ । उनका कविता ज्यादै मार्मिक र पढ्न योग्य नै छन् ।
भावनाका छाल उठ्छन्, मन मुटु जलाउँदै
संतापको मूल फुट्छ, छाती चिरी भुल्भुलाउँदै ।
प्रस्तुत खण्डकाव्यको भाषा सरल र सहज छ । तत्सम शब्दहरुको प्रयोग भएका ठाउँमा पनि प्रचलित शब्द नै रहेका छन् । सामान्य पाठकले कथावस्तुको मूर्तरुप सहर्ज फेला पार्न सक्दैन यो कवितासङ्ग्रह ध्यान दिएर पढेमा मात्र ऊ कथावस्तुसँग हिँड्न सक्छ । यस खण्डकाव्यको शैली मूलतः वर्णनात्मक र अभिधात्मक नै देखिन्छ । अन्तमा भविष्यमा कवि बाबुरामका अन्य कृतिहरु पनि निस्केर पढ्न पाइयोस् भन्न चाहान्छु ।
पुस्तकः उपहार बन्यो आँसु
विधाः खण्डकाव्य
लेखकः बाबुराम न्यौपाने “उत्स”
प्रकाशनः प्रथम, वि.सं. २०७४ असोज
मूल्यः रु.१२५।–
प्रकाशकः श्रीमती निर्मला (मुना) न्यौपाने
पृष्ठः ५०


















