काठमाडौं । जेठमा स्थानीय तहको निर्वाचन हुने भएपछि सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस चुनावी रणनीति बनाउन लागेको छ। २०७४ सालको वस्तुगत अवस्था र आगामी रणनीतिबारे औपचारिक रूपमा पार्टीभित्र छलफल सुरु भएको हो।
बैठकका सहभागीले मुख्यत विज्ञले प्रस्तुत गरेका तथ्य सुन्ने कार्य भएको थियो। बैठकमा धेरै मतान्तरले कांग्रेस पराजित भएका स्थान, कम मतले पराजित भएका क्षेत्र, तत्कालीन गठबन्धनले पुर्याएको लाभ र तालमेल भएपनि चुनावी नतिजा अर्को पक्षमा गएका स्थानका बारेमा खिमलाल देवकोटाले तथ्य प्रस्तुत गरेका थिए।
देवकोटाका साथै काठमाडौं विश्व विद्यालयका प्राध्यापक कृष्ण पौडेल पनि छलफलमा सहभागी थिए। निर्वाचनको मिति औपचारिक रूपमा घोषणा हुन लागेकाले कार्यकर्तालाई सक्रिय बनाउने अभिप्रायले पनि उक्त छलफल डाकिएको थियो। माघ १२ मा भएको राष्ट्रिय चुनावका बारेमा निर्वाचन अघि देवकोटाले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई गठबन्धनको अवस्था सुनाएका थिए।
चुनावी रणनीति तय गर्न पार्टीभित्र एक छुट्टै समिति नै गठन गर्ने विषयमा पनि छलफल प्रारम्भ भएको छ। विज्ञले प्रस्तुत गरेका तथ्यलाई आगामी कार्यसम्पादन समितिको बैठकमा छलफलका लागि अजेण्डा बन्ने भएको छ। ‘गत निर्वाचनको तथ्यगत विश्लेषण सुन्यौं। आउने चुनावमा कस्तो रणनीति बनाउने बारे सुरुवाती छलफल थियो,’ सहभागी अर्का एक केन्द्रीय सदस्यले भने, ‘२०७४ र अहिलेको अवस्था उस्तै छैन। एमाले विभाजित भएको छ। स्थानीय तहमा माओवादी एक्लै लडेको थियो।’


















