मानव अधिकार उल्लङ्घनका ३७८ उजुरी फस्र्योट

219

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले एक वर्षमा तीन सय ७८ वटा उजुरी फस्र्योट गरेको जनाएको छ । नयाँ पदाधिकारी नियुक्त भएपछि आयोगमा एक वर्षभित्र भएका कामको विवरण सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोगमा परेका नयाँ र पुराना उजुरीका आधारमा उक्त फस्र्योट गरिएको जानकारी दिइएको हो ।

आयोगमा २०७७ माघ २१ गते अध्यक्ष तपबहादुर मगरसहितका सदस्यहरू नियुक्त हुनुभएको थियो । त्यसपछिको एक वर्षमा आयोगमा १२९ वटा उजुरी दर्ता भएका थिए । नयाँ र पुराना उजुरीसमेत अध्ययन गरेर ४६६ वटा उजुरीमाथि निर्णय भएको हो । सोही निर्णयका आधारमा ३७८ वटा उजुरी फस्र्योट भएको हो ।

पत्रकार सम्मेलनमा आयोग अध्यक्ष मगरले आफूले गरेका निर्णय कार्यान्वयन गराउनेतर्फ सरकार उदासीन रहेको गुनासो गर्नुभयो । आयोगको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री, मन्त्री तथा विभिन्न संसदीय समितिसँग समेत छलफल गरे पनि कार्यान्वयनमा आशा गरेअनुसार प्रगति नभएको उहाँले बताउनुभयो । आयोगका सदस्य डा. सूर्यप्रसाद ढुङ्गेलले विश्वका अधिकांश मुलुकमा मानव अधिकारसँग सम्बन्धित सरकारी निकाय तथा नागरिक समाजलाई समेत सरकारको प्रतिपक्षको कोणले हेरिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा पनि मानव अधिकारलाई यही कोणले हेर्ने चलन छ । ” आयोगले एक वर्षमा गरेका उपलब्धि यसअघिका पदाधिकारीको पालामा सोही अवधिमा गरेको उपलब्धिभन्दा धेरै भएको आयोगका कामु सचिव मुरारी खरेलले बताउनुभयो ।

स्थानीय सरकारहरूले कानुन निर्माण गर्दा मानव अधिकारलाई ख्याल गर्न अनुरोध गरिएको, कारागार र हिरासतको स्तरोन्नति गर्न र सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरेकोलगायतलाई आयोगले एक वर्षमा भएको नीतिगत उपलब्धि मानेको छ । उजुरीका आधारमा पीडकलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायलाई सिफारिस गरिएको पनि आयोगले जनाएको छ ।
स्वदेशी तथा विदेशी शैक्षिक संस्था, मानव अधिकारको क्षेत्रमा क्रियाशील संस्थालगायतसँग समन्वय तथा सहकार्यका लागि सम्झौता गरिएको पनि आयोगले जनाएको छ । Gorkhapatra

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here