कैलाली । अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनितिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा शुक्रबार कैलालीको धनगढीमा बिरोध प्रदर्शन गरेका छन् ।
एमसीसी सम्झौता राष्ट्रिय हित विपरित रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको हो । उक्त विरोध प्रदर्शन पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुनले विकाश परियोजनाको रूपमा नेपाल भित्रिरहेको एमसीसी परियोजना राष्ट्र र राष्ट्रियताको हिततमा नभई अमेरिकनहरूले बनाएको दीर्घकालीन सैन्य रणनितीको अंग रहेको र यो हाम्रो देश नेपालका लागि घातक रहेको उनले जनाए ।
नेपालको प्राकृतिक सम्पदा,भूगोल, प्रकृतिक स्रोत साधनहरू यूरेनियम, जल र ऊर्जा माथि नेपालका महत्वपूर्ण खनिज पदार्थ साथै सिङ्गो राष्ट्रियता माथि हस्तक्षेप गर्ने उद्देश्यसहित लागु हुन लागेको एम सी सी सम्झौता खारेज हुनुपर्नेमा नेता पुनले जोड दिए । उनले भने,“ संसदवादी दलालहरुले गर्ने राष्ट्रहित विपरितका एजेण्डाहरुलाई दीर्घकालीन निकास दिनको लागि यो दलाल संसदीय व्यवस्था को अन्त्य गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु अनिवार्य छ ।
एम सी सी र यस्ता राष्ट्रघाती सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त न्यायप्रेमी जनसमुदाय हरू एक ठाउँमा उभिएर आन्दोलनमा उत्रन जरुरी छ ।” यो राष्ट्रघाती एम सी सी सम्झौता खारेज नहुँदा सम्म हाम्रो पार्टी निरन्तर आन्दोलनको मोर्चामा रहने उनले बताए । त्यसैगरी संयुक्त मोर्चाको तर्फबाट सहभागी राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट लगायत अन्य सबैले पनि उक्त सम्झौता जसरी पनि खारेज हुनुपर्ने माग गर्दै आन्दोलन निरन्तर जाने उनीहरूको निचोड थियो ।
संयुक्त रुपमा गरिएकाे उक्त बिरोध प्रदर्शन राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर,एमसीसी चाहिँदैन – देश बेच्न पाइँदैन, एकीकृत जनक्रान्ति जिन्दाबाद, संयुक्त आन्दोलन जिन्दाबाद जस्ता नारा जुलुस सहित धनगढीको क्याम्पस रोड हुँदै जिल्ला प्रशासन कार्यालय कैलाली गेटमा गई कोणसभामा परिणत भएको थियो ।


















