काठमाडाैं । ‘भन्सार ऐन २०६४ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी चोभार भूतखेल गाविस हाल कीर्तिपुर नगरपालिका-६ स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय, चोभारले ओगटेको चार किल्लाभित्रको क्षेत्रलाई भन्सार क्षेत्र तोकिएको छ,’ सोमबार प्रकाशित सूचनामा भनिएको छ ।
दक्षिणमा बल्खु दक्षिणकाली सडकबाट पूर्वतर्फ शिल खोल्सी शुरु भएको विन्दुदेखी शिल खोल्सी बागमती नदीमा मिसिएको विन्दुभित्रको क्षेत्रलाई तोकेको सूचनामा उल्लेख छ । ‘सरकारले भन्सार क्षेत्र तोकिसकेको छ,’ नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘अब कार्यविधी बनेर भन्सार बसेपछि बन्दरगाह उद्घाटन हुन्छ ।’ यस विषयमा भन्सारका कर्मचारीहरूसँग नियमित छलफल भइरहेको उनले बताए ।
२०७५ असारमा शिलान्यास भएको बन्दरगाह २०७८ असारमा सम्पन्न भइसकेको छ । समितिका अनुसार भन्सार, क्वारेन्टिन र सुरक्षा निकायको कार्यालय तयार भइसकेको छ । तर, भन्सार कार्यालय नगएपछि बन्दरगाह सञ्चालनमा ढिलाई भएको हो ।
फास्ट ट्रयाक, बाहिरी चक्रपथ लगायतका आयोजनाहरूसँग जोडिने हुनाले उक्त क्षेत्र व्यापारिक हबको रूपमा विकसित हुने समितिको दाबी छ । बन्दरगाहले व्यापारिक लागत घट्न गई उपभोग्य वस्तुको मूल्य घट्ने र देशको आर्थिक उन्नती हुने, निकासी तथा पैठारी प्रवद्र्धन हुने जनाइएको छ ।
सुक्खा बन्दरगाहको क्षेत्रफल २ सय ६० रोपनी हो । बन्दरगाहमा ३ सय ५० वटा ट्रक पार्किङ, ढल प्रशोधन केन्द्र, कुल आयोजना क्षेत्रको ६ प्रतिशत क्षेत्रफलमा हरियाली लगायत सुविधा हुने जनाइएको छ । कान्तिपुरबाट

















