काठमाडौं । तोलामै १ लाख नजिक पुगेको सुनको भाउ शुक्रबार भने घटेको छ । बिहीबार प्रतितोला ९९ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार १ हजारले घटेर ९८ हजार कायम भएको छ । तेजाबी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३३५ रुपैयाँ कायम भएको छ । रुसले युक्रेनमा सैन्य परिचालन गरी क्षेत्र कब्जा गर्न थालेपछि अमेरिकासँग विवाद चुलिँदा सुनको मूल्य बढेको थियो । बिहीबार एकै दिन सुन तोलामा २५ सयले बढेको थियो ।
विश्वका शक्तिशाली राष्ट्रहरुबीच विवाद बढ्दा विभिन्न देशका सरकार तथा लगानीकर्ताले सुनको माग बढाउँछन्, यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने गर्छ। अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रतिऔंस १९१६ डलर हाराहारीमा पुगेको छ ।


















