काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै स्थानीय तहमा सत्ता गठबन्धनको तालमेल नहुने भन्दै सकेसम्म आफ्नै संगठनको बलमा चुनाव जित्न लाग्नुपर्ने बताएका छन्।
‘सत्ता गठबन्धन गर्न देउवाजी सकारात्मक नै हुनुहुन्छ। उहाँ सकारात्मक भएर हुँदैन। पहिला आफ्नै पार्टी बलियो बनाउने र आफ्नै संगठनबाट चुनाव जित्न लाग्नुपर्छ’, प्रशिक्षणमा सहभागी एक नेताले प्रचण्डको भनाइ उदृत गर्दै भने, ‘त्यसका लागि सबै पार्टीका नेता–कार्यकर्ता अनुशासित र सभ्य भएर जनताको घर दैलोमा पुगेर जनताको मन जित्न लाग्नुस्।’
‘पार्टीमा अनुशासन फिटिक्कै भएन। सबैलाई पद चाहिएको छ। अवसर चाहिएको छ। त्यो पाइएन भने तथानाम गाली गर्ने आलोचना गर्ने प्रवृत्ति बढ्दै गयो। एकढंगले भन्ने हो भने अनुशासन हिनताको अवस्था आयो’, प्रचण्डले भने, ‘यसरी पार्टीमा अनुशासन नहुँदा पार्टी विधि पद्धतिमा चल्ने रहेनछ। अब पार्टीमा जनयुद्धको जस्तै उठ भन्दा उठ्ने र बस भन्दा बस्ने खालको अनुशासन हुनु पर्यो।’

















