एक खेल जितेमा पोर्चुगल विश्वकप पुग्ने

120

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गतको प्ले अफको सेमिफाइनलमा टर्कीलाई पराजित गर्दै पोर्चुगल विश्वकपको छनोट नजिक पुगेको छ। बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले टर्कीलाई ३–१ ले पराजित गर्दै प्ले अफको फाइनलमा प्रवेश गरेको हो।

पोर्टोेमा सम्पन्न खेलमा घरेलु टोलीको जितमा ओटाभियो, डिएगो जोटा र म्याथिएस लुइजले गोल गरे। टर्कीका बुराक यिल्माजले एक गोल फर्काए।

खेलको १५औं मिनेटमा ओटाभियोको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो। खेलको ४२औं मिनेटमा जोटाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे।

खेलको ६५औं मिनेटमा बुराक यिल्माजले सेन्गुइज अन्डरको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। ८५औं मिनेटमा बुराक पेनाल्टीमा चुक्दा टर्की खेलमा फर्कन सकेन।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा म्याथिएस लुइजले राफयल लियोको पासमा गोल गर्दै टोलीलाई विश्वकप छनोट अन्तरगतको प्ले अफको फाइनलमा पुर्‍याए।

अब पोर्चुगलले प्ले अफको फाइनलमा नर्थ म्यासेडोनियासँग प्रतिस्पर्धा गर्नेछ। नर्थ म्यासेडोनियाले बिहीबार राति नै युरो २०२० को च्याम्पियन इटालीलाई १–० ले स्तब्ध पार्दै फाइनलमा प्रवेश गरेको हो। पोर्चुगल र नर्थ म्यासेडोनियाबीचको खेल २९ मार्चमा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here