भगवान गौतम बुद्धले आजभन्दा २५ सय वर्षअघि ज्ञान प्राप्त गर्ने क्रममा अपनाएको विधि हो– विपश्यना ध्यान। सन् १९७५ मा विपश्यना आचार्य श्री सत्यनारायण गोयन्काले भारतको राजस्थान सेन्ट्रल जेलका कैदीबन्दीहरुका लागि कारागार परिसरमै विपश्यना शिविर सञ्चालन गरेपछि यो विधि कारागार सुधारको अङ्गकै रुपमा प्रयोग हुँदै आएको थियो। भारतबाहेक अमेरिका, क्यानडा, बेलायत, इजरायल, मंगोलिया, न्युजिल्यान्ड, थाइल्यान्ड तथा बर्माका कारागारमा समेत शिविर सञ्चालन भएका छन्।नेपालमा नख्खु जेलमै २०५२ र ५३ सालमा दुईपटक विपश्यना शिविर सञ्चालन भएको थिए। तर त्यसको निरन्तरता हुन सकेन।
विपश्यना साधनाको अभ्यासबाट कैदीबन्दीको मनोसामाजिक स्वास्थ्यमा सुधार आउने, कैदमा रहँदा वा कैदसमय भुक्तान गरी समाजमा फर्किँदा समेत जीवनयापन गर्न सहज महसुस हुने, कैदीबन्दीमा रिस, तनाव, आवेग तथा प्रतिशोधको भावनामा कमी आउने विभिन्न अध्ययनले देखाएका छन्।
पुनः नेपाल विपश्यना केन्द्रकै आग्रहमा नेपाल सरकार गृह मन्त्रालयबाट २०७८ भदौ २७ गते कैदीबन्दीको माग अनुसार स्थानीय प्रशासनसँग समन्वय गरी कारागार व्यवस्थापन विभागले विपश्यना शिविर सञ्चालन गर्नसक्ने भनी घोषणा भएको थियो।आनापान अभ्यासबाट शिविर सुरु भयो। शिविरमा धर्मसेवकका रुपमा १० दिन बन्दीहरुसँगै साधना गरेका दीपक शर्माले कैदीबन्दीको प्रयास सराहनीय रहेको बताए। शिविर सञ्चालक आचार्यहरु ज्ञानदर्शन उदास र महेन्द्रमुनि वज्राचार्यले पनि सहभागी कैदीबन्दीमा स्पष्ट देखिने गरी परिवर्तन आएको महसुस भएको बताए।
कार्यक्रममको अन्तिम दिन सहभागी कैदीबन्दीले शिविरमा सहभागी हुँदाका आफ्ना अनुभव बाँडेका थिए।


















