–चन्द्रप्रकाश बानियाँ
चुनाव नजिकिदै छ । पार्टीका नेता कार्यकर्ताहरुलाई मात्र होइन आम मतदाताहरुलाई पनि चुनाव लागिसकेको छ । नेपाली समाजलाई निर्वाचन कोकिनको नशाभन्दा पनि बढी लाग्छ । चिनाजानीका मानिसहरुले जिल्लातिरबाट फोन गर्न थालेका छन् । उनीहरुको मनोभाव बुझ्दा मेरा समवयी इष्टमित्रहरुले म्याग्दीका एकजना पुराना उम्मेदबारलाई सम्झना थालेका होलन्जस्तो लाग्छ । उनी थिए– स्व. नन्दबहादुर मल्ल ।
उनी सेवानिवृत्त उच्चतहका प्रशासनिक कर्मचारी थिए । राजाका मनपरेका मान्छे । पटक पटक अच्चलाधीशको जिम्मेवारी पनि सम्हालिसकेका थिए । समाजले उनलाई अञ्चलाधीश भनेरै चिन्दथ्यो । सेवानिवृत्तिपछि उनी रापसको उमेदबार बनेर गृहजिल्लामा आएका थिए । ठकुरी समुदायका मानिस, तत्कालीन राजाका हजुरीया जर्नेल सेरबहादुर मल्लका सहोदर भाइ, २००७ सालको क्रान्तिका एकजना योद्धा, २००७ सालको जनविद्रोहमा बाग्लुङ गौडा कब्जा गर्ने आन्दोलनकारीमध्येका एकजना नेता, गौडा कब्जा गरेपछि बाग्लुङ जिल्लामा गठन भएको अन्तरिम मन्त्रीमण्डलको शिक्षामन्त्री, असल वक्ता र भलाद्मी स्वभावका मल्लले सरकारी उमेदबार बन्ने अवसर भने पाएका थिएनन् । जनमत संग्रहपछिको पहिलो आम निर्वाचन थियो त्यो । गैह्रसरकारी उमेदवार भएको हुनाले स्वभावतः जिल्लाका बहुदलवादीहरुको समर्थन उनलाई प्राप्त थियो ।
गैरसरकारी उमेदबार भएपनि जनमतबाट उनलाई चुनावमा हराउन सम्भव थिएन । सरकारी पक्षलाई जिताउनका लागि पुलिस प्रशासनले सम्भव सबै हथकण्डा अपनायो । उनलाई मतदिनबाट जनतालाई कसैगरी रोक्न नसिकने भएपछि जालझेलतिर लाग्यो । बाकसमा परेको मतमै हेराफेरि गर्दा पनि केही सिप नलाग्ने भएपछि मतगणनामा धाँधली गरेरै भएपनि उनलाई हराई छोडियो । मतगणनाको भोलिपल्ट मतगणनास्थलमा विछ्याइएको कार्पेटमुनि “मादल” चिन्हमा छाप हानिएका हजारौं मतपत्रहरु फेला परेका थिए । ती सबै मतहरु गणना गरिएका भए उनको जीत सुनिश्चित हुने थियो ।
नन्दबहादुर मल्ल भलाद्मी चरित्रका मान्छे थिए । मानिसले संसार सबै आफैजस्तो देख्छ रे । उनी आफै कर्मचारीतन्त्रबाट सेवानिवृत्त मानिस थिए । त्यसैले होला, उनले मतगणनामा खटिएका कर्मचारीलाई आफूजस्तै भलाद्मी ठानेहोलान् । कर्मचारीले वेइमानी गर्लान् भन्ने कल्पना उनले गर्दै गरेनन् । आफैले सिङ्गो आयु खपाएको कर्मचारीतन्त्रले चुनाव हराउने षडयन्त्र र छलकपट गर्ला भन्ने लाग्दै लागेन । कर्मचारीले अनेक तिकडदम गरेर उनलाई चुनावमा हराईछोड्यो । सोझा मल्लले जनताको मतको रक्षा गर्नै सकेनन् । त्यस्तो प्रयत्नै गरेनन् । अलिकता चनाखो भएर सम्भावित षडयन्त्रको अनुमान गरेका भए पराजित हुनुपर्दैनथ्यो । उनलाई जनताले जिताएका थिए । कर्मचारीतन्त्रप्रतिको उनको अतिविश्वासले उनलाई पराजयभागी बनाइदिएथ्यो ।
पञ्चायतकालको चुनाव अन्यत्र त कस्तो हुन्थ्यो कुन्नी ? म्याग्दीमा भने वदनाम थियो । धाँधलीको पर्याय नै मानिन्थ्यो म्याग्दीको चुनाव । सरकारी पक्षको त माटोको मुर्ति खडा भएपनि चुनाव जित्छ भनिन्थ्यो । निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न हुने कुरा त परैरहोस् चुनाव चुनावजस्तो नभएर युद्धअभ्यासजस्तो हुन्थ्यो । कसैले कामको कुरो गर्दैनथ्यो, उमेदबारसंग पदमा पुगेपछि गर्ने कामको कुनै योजना हुँदैनथ्यो । विकासनिर्माणको कतै चर्चा हुँदैनथ्यो । चुनाव जनताको काम गर्न होइन, पद प्राप्तिका लागि लडिन्थ्यो । लडाई, झडप, हानाहान, मारामार, बुथ लुटालुट, बाकस फोराफोर, बल पुग्नेहरुले विपक्षी उमेदवारपक्षका मतदातालाई मतदानस्थलबाट लगार्थेे । घरघर गएर मतदानस्थलमा नजान धम्क्याइन्थ्यो । विपक्षी उमेदवारका प््रतिनिधिलाई लगारेर एकछापे भोट खसालिन्थ्यो ।
पहुँचवाला मानिएका नन्दबहादुरले भने त्यसपटक जिल्लामा निर्वाचन अभियानको नयाँ परम्परा बसालेका थिए भन्दा फरक पर्दैन । उनले सात्विक नमूना प्रदर्शन गरेका थिए । चुनाव जित्न नसके पनि चुनाव प्रचारको एउटा नयाँ मानक स्थापित गरेका थिए । उनले चुनावमा कसैलाई गाली गरेनन् । विपक्षीको आलोचनामा एक शब्द पनि खर्च गरेनन् । अपशब्द प्रयोग गरेनन् । कसैको खिसीट्युरी गरेनन् । कसैलाई हियायनन् । वदनाम पञ्चहरुको कालो अनुहारबाट मुकुण्डो च्यातिदिने प्रयत्न गर्दै गरेनन् । न कसैलाई देख्लास् पख्लास्को धम्की दिए, न कसैको विरुद्धमा एकवचन कटुशब्द उच्चारण गरे । चुनाव जितेपछि आफूले जिल्लाको लागि गर्नसक्ने कामको सूचि सृुनाउँदै जिल्लाभर हिँडे । मतयाचनाको अनपेक्षित भलाद्मी नमुना प्रदर्शन गरे ।
नन्दबहादुर मल्लले उ जमानामा जिल्लामा मोटरसडक पु¥याउने योजना सुनाए । क्याम्पस स्थापना गर्ने कुरा गरे । स्कूलहरुको संख्या बढाउने कुरा गरे । अस्पतालको स्तरोन्नति गर्ने योजना पस्के । मानिसहरु छक्क परे । त्यसभन्दा अगाडिका चुनावमा कसैले त्यस्तो कुरै गर्दैनथ्यो । कुनै चुनावमा कुनै उमेदवारले पनि योजनाको आधारमा मत माग्ने गरेकै थिएनन् । चुनाव यस्तो पनि हुँदो रहेछ भनेर सिङ्गो जिल्ला आश्चर्यचकित भयो । त्यसपटक मल्लले मत याचनाको नयाँ मानक स्थापना गरे, विल्कुल नविन उदाहरण प्रस्तुत गरेका थिए । मतदातालाई मल्लका मिठा कुराले यसरी तान्यो कि सरकारी पक्षको सातो खायो । थप पसिना चुहाउनुपर्ने बनायो । चुनाव जित्नका लागि अर्कै बाटो अपनाउनुपर्ने बनायो । जनताका मत कार्पेटमुनि घुसारेर नक्कली मत गणना गर्नुपर्ने बनायो । त्यही कामको लागि मतगणनास्थलका बत्ती दर्जनौचोटी निभाउनु परेको थियो भनिन्छ ।
पञ्चायत कालरात्रीको कुरा थियो त्यो । त्यसपछि देशमा ठूलठूला परिवर्तनहरु भए । विपीले भनेजस्तो राजसहितको प्रजातन्त्रको अभ्यास भयो । माओवादी विद्रोह उर्लियो । राजतन्त्र उखेलियो । गणतान्त्रिक व्यवस्था स्थापित भयो । गणतन्त्रिक संसदको पहिलो कार्यकाल पनि तुरिन आँट्यो । दोश्रोपटकको स्थानीय निर्वाचन सङघारमै आइपुगेको छ । राजनीतिक दलहरुलाई चुनाव लागिसकेको छ । पञ्चायती व्यवस्थाको उत्तराधिकार बोकेको पार्टीका नवनिर्वाचित अध्यक्षले नेताहरुलाई सगोलमा “चोर” भनेर आफ्नो संस्कारको परिचय दिइसकेका छन् । त्यो उनको चरित्रको नमूना थियो । संस्कारगत स्वभाविक चेष्टा थियो । लोकतान्त्रिक पार्टीका शिर्ष नेताहरुले उनलाई पनि कोसौं पछि छोड्ने गरी थुतुनो चलाउन थालेका छन् ।
पार्टीका शिर्ष नेताहरुको दोहोरीको स्तर देख्दा “फोहर गर्नेलाईभन्दा देख्नेलाई लाज” भन्ने लोकथन चरितार्थ हुन थालेजस्तो लाग्छ भन्नु अत्युक्ति नहोला । नेताहरु एकअर्कालाई यति तल्लो स्तरमा ओर्लेर गालीगलौजको वर्षा गर्न थालेका छ कि सुन्नेले कान थुन्नुपर्ने अवस्था उत्पन्न हुन थालेको छ । आफ्नो पार्टीको योजना र कार्यक्रमको फेहरिस्त अघि सारेर मतयाचना गर्ने होइन कि मञ्चमा उक्लनासाथ कसले कति अस्लिल गालीगलौजका शब्दोच्चारण गर्ने भन्ने होडवाजी र हानाथाप चल्छ । त्यो प्रतिश्पर्धामा अब्बल देखिएका छन्– एमालेका अध्यक्ष खड्गप्रसाद ओली ! नेताहरुमा कति छुच्याई हुन्छ, कतिसम्म निर्लज्जता हुन्छ र पचमुखा हुन्छन् भन्ने कुराका उदाहरण नै बनेका छन् ।
चुनावको यो मौसममा अर्को एउटा तमासा पनि लाजमर्दो गरी उत्घाटित भएको छ । खासगरेर, चुनावको मुखमा एउटा पार्टीबाट निर्वाचित प्रतिनिधि अर्को पार्टीमा हाम्फालेको छ, एउटा पार्टीको नेता अर्को पार्टीमा बसाइसरेको छ । नेताको पछि लाग्ने झोले कार्यकर्ताको पंक्ति पनि दलहरुसंग दाइजोमा माइतीले दिएका नोकरचाकर झै एताबाट उता र उताबाट एता बसाई सरेका छन् । विचार, सिद्धान्त र आदर्शले पार्टीमा लाग्नेहरु पनि यताउता त गर्छन् । गर्नै हुदैन भन्ने होइन । मानिसलाई निकट वा टाढा बनाउने मुख्य विषय नीति, सिद्धान्त र आदर्श नै हो । तर नीति सिद्धान्त र आचरण कुनै पार्टीको चुनावको बेलामा फेरिने होइन । सामान्यतःपार्टीहरुको नीतिसिद्धान्त र कार्यक्रमको निर्धारण पार्टी महाधिवेशनबाट गरिन्छ । चार बर्ष ११ महिना महाधिवेशनबाट पारित नीतिकार्यक्रम ठिक हुने, अन्तिम महिनामा त्यही खराब ठहर्ने हुदैन । अर्थात चुनावको मौसममा पार्टी परिवर्तन हद दर्जाको विचलन हो । स्वार्थप्रेरित मनोदशाको निर्लज्ज प्रदर्शन हो । पदलोलुपताको अब्बल उदाहरण हो ।
नेता कार्यकर्ताहरु चुनावको सङ्घारमै यताउता गर्ने परम्परा प्रायः हाम्रोजस्तो भर्खरै चुनावी अभ्यासमा उत्रेको र अपेक्षाकृत पछि परेको समाजमा सनातन देखिन्छ । हाम्रो छिमेकी भारतमा अघिल्लो दिनसम्म एउटा पार्टीको सांसदपदमा बहाल रहेको मान्छे भोलिपल्टै अर्को पार्टीबाट उही पदमा मनोनयनपत्र भर्दै गरेको देखिन्छ । हामीले सिक्ने त्यतैबाट हो । तर अचम्म लाग्ने कुरा के देखिन्छ भने नेपालमा मतदाताहरुरु पनि एउटा वा अर्को पार्टीमा चुनावको मौसममा बसाई सर्छन् । अर्थात नेपालको हरेक मतदाता कुनै न कुनै पार्टीको साधारण सदस्य अवश्य बनेको हुन्छ । पार्टीहरुले घरघरमा पुगेर पार्टी सदस्यता भिडाउँछन् । गनिटिपी सबैलाई पार्टीमा छिराउँछन् । कसैलाई छोड्दैनन् ।
नेपालमा स्वतन्त्र मतदाता नै हुदैनन् । घरका सबै सदस्यहरु पर्टीका साधारण सदस्य बन्छन् । बनाइन्छन् । जुन पार्टीले् जति धेरै सदस्यता बाँड्छ उसैले चुनाव जित्छ । पार्टी सदस्यतालाई मतको पूर्व बुकिङ्ग नै मानिन्छ । अर्थात पार्टीहरुले चुनाव अघि नै निर्वाचनको हारजितको आँकलन गर्न रुचाउँछन् र जतिसक्यो बढी सदस्यता बाँड्छन् । आफ्ना नीति कार्यक्रमको आधारमा होइन, आफूले बनाउन सकेको सदस्यताको आधारमा चुनाव जितहारको अनुमान लगाउँछन् । अर्थात चुनाव अघि नै विजयको प्रत्याभूति लिने प्रयत्न गर्छन् । आमासमूह, टोलसुधार समिति वा वनउपभोक्ता समितिमार्फत पार्टीहरुले बाहैै्र महिना चुनावी अभ्यास गर्छन् । आफ्नो पक्षको जनतमतको आँकलन गर्नेगर्छन् ।
चुनाव पर्यवेक्षण गर्ने विद्वान र संस्थाहरुले जुनसुकै चुनावमा पनि करिब २० प्रतिशत फ्लोटिङ् मत रहन्छ भन्छन् । र नेपालमा पनि चुनावी जितहारको कारण त्यही मत हुन्छ भनेर मान्छन् । नेपालको सन्दर्भमा दुई ठूला पार्टीहरुको मत प्रायः बच्छी बच्छी रहन्छ । अन्तिममा फ्लोटिङ् मत जसले बढी आकर्षित गर्छ उसैको पलडा भारी हुन्छ । पछिल्ला तीनवटा चुनावपरिणामहरुको अवलोकन गर्दा त्यस्तै देखिन्छ । २०६४ चुनावमा तत्कालीन माओवादीले प्रत्यक्षतर्फ बहुमत पाएको थियो । २०७० को निर्वाचनमा त्यो मत काँग्रेस र एमालेमा बाँडियो । २०७४ सालको निर्वाचनमा त्यस्तो मत “वामएकताको” पक्षमा प¥यो । अर्थात जुन पक्षले चुनाव जित्छ भन्ने हल्ला चल्यो, वातावरण जुन दलको पक्षमा देखियो फ्लोटिङ् मत उसैको पक्षमा जाने गरेको छ । आश्चर्य मान्नुपर्ने कुरा के हो भने पार्टीहरुले आफ्नो पार्टीको सदस्यता भिडाउन कसैलाई छोडेका हुँदैनन् । सबै मतदाताहरुको हात हाततमा कुनै न कुनै पार्टीको सदस्यता परेकै हुन्छ । तर परिणाममा भने मत कतै न कतै सुइङ्ग भएकै देखिन्छ । अर्थात सबै सदस्यता प्राप्त मतदाताहरुले त्यही पार्टीलाई मत दिन्छन् भन्ने प्रत्याभूति हुदैन । पार्टीको सदस्यताले मान्छेलाई उसैलाई मत दिन वाध्य पार्दैन । पार्टीहरुले सदस्यता भिडाउँछन् । मतदाताहरुले नाइनास्ती गर्दैनन् । एकभन्दा बढी पार्टीको सदस्यता ग्रहण गर्छन् । मत भने जता पनि जान सक्छ । बुथभित्र छिरिसकेपछि पनि मत बदलिनसक्छ ।
चुनाव नजिकै छ । स्वभावतः ठूलाठूला सभाहरु गर्ने होडवाजी चल्ने नै भो । चुनावमा भिड जुटाउनका निमित्त कार्यकर्ताहरुले आकाशपाताल जोड्छन् । साम, दाम, दण्ड, भेद चारै नीति अवलम्वन गर्छन् । भिड जुटाउन कस्तो पापड बेलिएको छ भन्ने कुरा नेतालाई जानकारी हुदैन । सभाको उपस्थिति देखेर नेताहरु दङ्दास पर्छन् । उनीहरुलाई निर्वाचनपूर्व नै चुनाव जितिएजस्तो लाग्छ । तर परिणाम भने विपरित आउन पनि सक्छ । २०७० को चुनावमा त्यही चर्तिकलाले माओवादीलाई भ्रमित बनाएको थियो । माओवादी नेता जहाँ पुग्थे, अभूतपूर्व भिडभाड जम्मा हुन्थ्यो । मतपरिणाम भने अनपेक्षित आएथ्यो । पहिलो पार्टी तेश्रोमा खुम्चिनुपर्ने कल्पना माओवादीका नेताहरुले गरेकै थिएनन् ।
यसपटक पनि त्यस्तै तमासा देखिएको छ र परिणाम पनि त्यस्तै हुने त होइन भन्ने आशंका उत्पन्न भएको छ । एमालेको आयोजनामा हुने चुनावी सभाहरु हेर्ने हो भने “त्यत्तिका मान्छे कहाँबाट आए ?” भनेर आश्चर्य मान्नुपर्ने हुन्छ । चुनावी अंकगणित वा तथ्यगत विश्लेषण गर्ने हो भने यसपटकको चुनावमा एमालेलाई दोश्रो स्थान हासिल गर्न पनि पापड बेल्नपुर्ने अवस्था स्पष्ट दृष्टिगोचर हुन्छ । त्यतिको भिड किन कसरी कहाँबाट उर्लन्छ त ? कारण के हो त ? निश्चयनै एमालेले ज्यालामा मान्छे जम्मा गरेको नहुनुपर्छ । हुन त अर्को कोणबाट हेर्दा स्वभाविक पनि लाग्छ ।
नेपालका नाम चलेका कुनै पनि हास्ँय कलाकारको सार्वजनिक कार्यक्रमको आयोजना हुने हो भने जनकपुरको बाह्रविघाको मैदान पनि खचाखच भरिन्छ । विनापैसामा मनोरञ्जन लिन पाउने हो भने मान्छे ओइरिन्छन् । नेता केपी ओली नेपालका स्टाएण्डिक कमेडी प्रतियोगितामा सहभागी हुने हो भने कुनै कलाकारभन्दा तल पर्छन् जस्तो लाग्दैन । श्रोतादर्शकलाई कुस्त मनोरञ्जन दिन सक्ने खुवी उनमा छ भन्ने कुरा निर्विवाद सत्य हो । राजा ज्ञानेन्द्रलाई राज्यसत्तामा हस्तक्षेप गर्न उक्साउने पनि त्यही भिड थियो । जता गए पनि उर्लने भिडले सत्ताहस्तक्षेपका लागि उक्सायो तर सत्ता टिकाउनमा भरमदत पु¥याएन । उनले आयोजना गरेको स्थानीय निकायको चुनावमा समेत भाग लिइदिएन । नेपालीहरुको त्यही प्रवृत्तिको पुनरावृत्ति यसपटक पनि हुन थालेको होइन् भनेर कसरी पत्याउनु ? -जनधारणा साप्ताहिकबाट


















