काठमाडौँ- सत्तारुढ गठबन्धनका पाँच शीर्ष दलले मंगलबार बेलुका एक बैठक गरी स्थानीय निर्वाचनमा तालमेलको संरचनाबारे खाका तयार गरेको छ।
सत्तारुढ गठबन्धनका प्रमुख नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, समाजवादीका प्रमुख माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी बैठकले तालमेलको खाका तयार गरेको हो। खाकामा पाँचै दलका शीर्ष नेताहरुले हस्ताक्षर गरेका छन्।
खाकामा सात आधारमा दलहरुबीच सिट बाँडफाँट गर्ने उल्लेख छ। त्यस्तै. महानगर र उपमहानगरको निर्णय केन्द्रीय संयन्त्रले, नगर र गाउँपालिकाको जिल्ला संयन्त्रको सिफारिसमा प्रदेश संयन्त्र र वडाको निर्णय जिल्ला संयन्त्रले गर्ने उल्लेख छ।

















