काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयर मागे पनि गठबन्धन दलहरु हिचकिचाइरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “जहाँ आधार छ, जहाँ सम्भावना छ, त्यहाँ हामीले छाड्दैनौं । हाम्रा नाजायज माग जनताले पनि बुझ्छन् । माग न्यायपूर्ण राख्नुपर्छ । महानगरपालिकामा हामीले मेयरको दाबी गरेका छैनौं । काठमाडौंको उपमेयर माग्दा साथीहरु हिचकिचाइरहनुभएको छ । तर हामी पद नपाए पनि रुँदै हिँड्दैनौं ।
आफ्नो पार्टी सहमति भए गठबन्धनमा नभए एक्लै लड्न पनि तयार रहेको उनले औंल्याए । केसीले थपे, पदका लागि हारालुछ छ । त्यसैकारण देशको दुर्दशा भइरहेको छ । यो राजनीतिको महारोग हो ।”
उनले संघीयता खारेजीको माग राजमोले नछाडेको पनि स्पष्ट पारे । उनले भने, “मुलुक बचाउने हो भने संघीयता खारेज हुनुपर्छ । संघीयता बोके चुनाव जितिने, नबोके हार्ने पनि होइन ।”


















