धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडासदस्य अटल सुर्यमगरको निधन भएको छ । चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानी बजारस्थित मतगणनास्थलमा राति ८ बजेतिर बसिरहेको अवस्थामा अचानक बेहोस् भएका ५२ वर्षीय सुर्यमगरको उपचारको क्रममा गएराति निधन भएको हो । मतगणनास्थलमा अचानक बेहोस् भएका मगरलाई तत्काल उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल पु¥याएको भएपनि उपचारको क्रममा उनको मृत्यू भएको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिनुभयाे ।
अघिल्लो स्थानीय तहको निर्वाचन २०७४ मा एमालेको तर्फबाट वडासदस्यमा निर्वाचित भएका मगर पुनः यसपटक पनि वडा सदस्यमा निर्वाचित भएका थिए । वडाको मतपरिणाम अन्तिम चरणमा पुगेको बेला मगर कुर्सीबाट ढलेर अचानक बेहोस् भएका थिए । उनलाई उपचारको लागि बाटोमा लैजाँदै गर्दा उनी वडासदस्यमा निर्वाचित भएका थिए । उच्च रक्तचापका कारण ह्रदयघात भएको हुन सक्ने पालिका उपाध्यक्ष रुचालले बताउनुभयो । उहाँको शव घर ल्याइसकिएको र आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ । गाेरखापत्रबाट

















