रोल्पाको गंगादेव गाउँपालिकामा कांग्रेसका पुन र केसीले जित्याे

171

रोल्पा  । रोल्पाको गंगादेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन र उपाध्यक्षमा अमृताकुमारी केसी विजयी भएका छन् । अध्यक्ष पुनले २ हजार ५५७ मत पाए भने उनका प्रतिद्वन्द्वी एमालेका रोशनकुमार वलीले २ हजार ४९९ मत पाए। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका बीरबहादुर खत्रीले २ हजार १५४ मत ल्याएका हुन्। अघिल्लो निर्वाचनमा पुन र वलीलाई जितेर खत्री अध्यक्ष बनेका थिए।

अध्यक्ष निर्वाचित पुन कांग्रेस रोल्पाका उप-सभापति हुन्। वली एमाले जिल्ला नेता हुन्। खत्री भने माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष हुन्। माओवादी केन्द्रले उनलाई मात्रै स्थानीय तहको प्रमुखमा दोहोर्‍याएर टिकट दिएको थियो। अन्य दलले एक्लाएक्लै निर्वाचनमा भाग लिएपनि खत्री माओवादी–समाजवादी’ गठबन्धनका साझा उम्मेदवार थिए।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रको जित भएको र माओवादी केन्द्रको प्रभावक्षेत्र मानिएको गंगादेवमा यो पटक कांग्रेसले जितेको हो । यहाँ नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चुडामणि वलीले स्वतन्त्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए। उनले १५७३ मत पाए।

गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै अमृताकुमारी केसी विजयी भइन्। उनले २ हजार ९ सय ९ मत पाइन् भने प्रतिद्वन्द्वी नेकपा एमालेकी निर्मलाकुमारी वलीलाई २ हजार ४ सय ४२ मत प्राप्त गरिन् ।

उपाध्यक्षमै माओवादी-समाजवादी गठबन्धनका नेपबहादुर डाँगीले १८११ मत ल्याए भने उपाध्यक्षमै स्वतन्त्रबाट उम्मेदवारी दिएकी चन्द समूहकी सुशीला वलीले ८६१ मत पाइन् ।

गंगादेवका ७ वडामध्ये ५ वटामा कांग्रेसले जितेको छ। एमाले र माओवादीले एक/एक वडामा जितेका छन् । अध्यक्षमा निर्वाचित भएपछि पुनले सबैलाई खुशी बनाएर विकास योजना ल्याउने बताए।

सामाजिक क्षेत्रमा ध्यान दिने बताउँदै उनले समानुपातिक विकासका योजना निर्माण गर्ने र पारदर्शितामा ध्यान दिने बताए । उनी कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनमगरका माइला भाई समेत हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here