संसद सचिवालयले आज जेठ ३ गते मंगलबार संघीय संसद प्रतिनिधि सभा एघारौ अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गरेको छ । दिउँसो ४ बजेबाट सुरु हुने बैठकमा बजेटका विषयमा पनि छलफल हुने छ |
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा अर्थमन्त्रीले आगामी वर्षका लागि संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्दछ । त्यसका लागि अर्थमन्त्री जनार्दन शर्माले “आ.व. २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
साथै, कार्यसूचीमा राष्ट्रपतिको पत्र सम्माननीय सभामुखले सम्माननीय राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयको पत्र सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने, अध्यक्षता गर्ने सदस्यको मनोनयन सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने उल्लेख गरिएको छ ।


















