एसियन कप छनोटमानेपालको लज्जास्पद हार

41

काठमाडौं । शिव गुरुङ र निरकुमार राईको डेब्युसहित सात खेलाडी परिवर्तन गरिएको खेलमा नेपालले मंगलबार राति एएफसी एसियन कप छनोट प्रतियोगितामा इन्डोनेसियासँग ७–० को लज्जास्पद हार बेहोरेको छ ।

नेपालले कुवेतसँग खेलेको पछिल्लो खेलको टोलीमा सात खेलाडी परिवर्तन गरेको थियो । कप्तान नवयुग श्रेष्ठसँगै गौतम श्रेष्ठ, विकास खवास, सेसेहाङ आङदेम्बे, आयुष घलान, मनीष डाँगी, सुरजज्यू ठकुरीलाई बेन्चमा राखिएको थियो । उनीहरूको स्थानमा शिव गुरुङ, सुनील बल, जर्जप्रिन्स कार्की, एरिक विष्ट, निरकुमार राई, राजन गुरुङ र सन्तोष तमाङलाई पहिलो रोजाइमा खेलाइएको थियो । जसमा शिव र निरकुमारले डेब्यु गरे ।

प्रतियोगितामा सुखद अन्त्यको लक्ष्यमा रहेको नेपालले छैटौँ मिनेटमा गोल खाएको थियो । महम्म्द दिमास द्राजदको गोलबाट इन्डोनेसियाले अग्रता बनाएको हो । एक गोलले पछि परे पनि सुन्दर फुटबल खेलेको नेपाल ३३औँ मिनेटमा सुमन अर्यालले दोस्रो पहेँलो कार्डको सामना गरेपछि १० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि नेपाल सम्हालिन सकेन ।

पहिलो हाफ सकिन दुई मिनेट बाँकी हुँदा वितान सलेमानले इन्डोनेसियाको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खायो ।

५४औँ मिनेटमा फर्चुदिन आर्यन्तोले तेस्रो गोल थपे । त्यसको एक मिनेट बित्न नपाउँदै सादील रामदानीले चौथो गोल गरे । ८०औँ मिनेटमा एल्कन बाग्गोटले पाँचौँ गोल गरे । ८१औँ मिनेटमा सुलेमानले व्यक्तिगत दोस्रो गोल गरे । ९०औँ मिनेटमा मार्सेलिनो फेर्डिनानले अर्को गोल गरेपछि इन्डोनेसियाले ७–० को विजय हासिल गरेको हो ।

हारसँगै तेस्रो चरणको छनोट प्रतियोगितामा समूह ‘ए’मा रहेको नेपाल अंकविहीन रह्यो । समूहको पुछारमा रहेको नेपाल यसअघि कुवेतसँग ४–१ र जोर्डनसँग २–० ले पराजित भएको थियो । यो समूहबाट जोर्डन शीर्ष स्थानमा रहेर चीनमा हुने एएफसी एसियन कप २०२२ मा स्थान बनाउन सफल भएको छ । यस्तै, नेपाललाई फराकिलो अन्तरमा पराजित गरेको इन्डोनेसियाले पनि उत्कृष्ट पाँच उपविजेताभित्र रहँदै चीनको यात्रा गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here