सुनसरीकी टीका आत्रेयको कविता प्रथम

101

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औं वार्षिकोत्सवमा आयोजित राष्ट्रिय कविता महोत्सवमा सुनसरीकी टीका आत्रेयको कविता प्रथम भएको छ । प्रतिष्ठानले बिहीबार गरेको कार्यक्रममा अन्तिम ३० जना कविको प्रतिस्पर्धामा आत्रेयको ‘संकल्प’ शीर्षकको कविता प्रथम भएको हो । धादिङका यात्रीप्रकाश पाण्डेको ‘आगोमा फूलेको देश’ द्वितीय भएको छ ।

भक्तपुरकी सीता तुम्खेवाको ‘चरिसो फूल’, सुनसरीका किरन सिवाको ‘बुबाको सिलाई मेसिन’ र अछामका कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ शीर्षकका कविताले तृतीय स्थान हासिल गरे । प्रथम कविलाई स्वर्णपदकसहित ५० हजार रुपैयाँ, द्वितीयलाई रजत पदकसहित ४० हजार र तृतीय हुनेलाई कास्यपदकसहित ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

महोत्सवको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासका लागि प्रतिष्ठानले खेलेको भूमिकाको चर्चा गरे । ‘प्रतिष्ठानले नेपाली भाषा, कला, साहित्यलाई देश तथा विदेशमा पुर्‍याउन अग्रणी भूमिका खेलेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘२०६२/६३ सालको राजनीतिक परिवर्तनपछि छुट्टै प्रतिष्ठानका रूपमा खडा भएको यसले प्राज्ञिक गरिमाको उचाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याएको छ ।’ उनले प्रतिष्ठानले गर्दै आएको भाषा, साहित्य र संस्कृतिको खोज, अनुसन्धान तथा प्रकाशन अनुकरणीय रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here