बृहत वामपन्थी एकता निर्माण गर्न पार्टी घोषणा

72

काठमाडाैं / कम्युनिष्ट पार्टीहरुबीच देखिएको फाटो हटाउने, विघटन भएको नपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई पुनर्गठन गर्ने र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्व नै विभाजित कम्युनिष्ट पार्टीहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीबीच कार्यगत एकता सृजना गर्ने लक्ष्यका साथ नेता बामदेव गौतमको संयोजकत्वमा नेकपा एकता राष्ट्रिय अभियान नामक नयाँ पार्टीको घोषणा भएको छ । यो पार्टीले आगामी तीन महिनासम्म नेकपा एकता संयोजन समितिको काम गर्ने जनाईएको छ ।

सर्वोच्च अदालतको आदेशले नेकपा र नेकपा एमाले विभाजनर विघटन कम्युनिष्ट पार्टीहरुबीचको सम्बन्धलाई शत्रुतापूर्ण अवस्थामा परिणत गरेको निष्कर्ष निकाल्दै नेता गौतमले बृहत वामपन्थी मोर्चा निर्माण गर्ने घोषणा गर्नु भएको छ ।गत मंगलवार यस्तै उद्घोष गर्दै उहाँले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी गठन गरेको घोषणा गर्नु भयो ।

सो अवसरमा गौतमले कांग्रेस सरकारमा रहँदा देशमा ठूला ठूला संकट ल्याएको उल्लेख गर्नुभयो । कांग्रेसमाथि एमसिसी ल्याएको र एसपिपी ल्याएर अमेरिकी सेना नेपाल भित्र्याउने खेलमा लागेको पनि उहाँले आरोप लगाउनु भयो । ‘कांग्रेसले विकासको नाममा देशलाई संकटमा ल्याउने गरेको छ,’ उहाँले भन्नु भयो,‘कांग्रेसले देशलाई अगाडि बढाउन नसक्ने देखेर मैले पार्टी गठन गरेको हुँ, आउँदो चुनावमा कम्युनिष्टले कार्यगत एकता नगरे नेपाली कांग्रेसले एकल बहुमत ल्याउने कुरामा म स्पष्ट छु ।’

सो अवसरमा उहाँले  यदि यही अवस्था रहिरहेमा ५ वर्ष कांग्रेसले एक्लै सरकार चलाउने निश्चित छ भन्दै त्यसपछि कांग्रेसलाई कम्युनिष्टको आवश्यकता पनि नपर्ने दाबी पनि गर्नुभयो । ‘त्यसबेला पार्टीले देशलाई थप संकटमा लैजानेछ’, उहाँले दाबी गर्नुभयो, ‘त्यसकारण चुनावमा कम्युनिष्टको कार्यगत एकता आवश्यक छ ।’ नेपाली जनताको आशा र भरोसाका रुपमा केही वर्ष पहिले मात्र उदय भएको राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विभाजन उन्मुख भएर दुई अध्यक्षको नेतृत्वमा दुई समूह बनेर एक अर्काका विरुद्ध आन्दोलन गरिरहेका बेला त्यो अनौठो क्रियाकलापलाई रोक्न र पार्टी एकताको पक्षमा जनमत सृजना गर्ने उद्देश्य राखेर नेकपा एकता राष्ट्रिय अभियानका नाममा २०७७ साल माघ १४ गते दवाव समूहका रुपमा यसलाई अगाडि सारिएको थियो ।

पहिला एकता अभियान सर्वोच्च अदालतको ०७७ साल फागुन २३ गते को निर्णयकै कारणले सफल नभएको मंगलवार जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । एउटै पार्टी दुई समूहमा विभाजित भई एक अर्काका विरुद्ध शत्रुतापूर्ण आन्दोलनको अवस्था समाप्त हुनेछ भन्ने अनुमान गरेर त्यो निर्णयलाई समर्थन गरिएको पनि उल्लेख गरिएको छ ।

सो अवसरमा उहाँले भन्नु भयो, ‘नेपालको राजनीतिक अवस्थामा गम्भीर नकारात्मक प्रभाव वृद्धि भइरहेको छ, यी तथ्यहरूको आधारमा भन्नुपर्दा सर्वोच्च अदालतको निर्णय त्रुटीपूर्ण र हानिकारक सावित भएको छ, त्यसकै कारण जनतामा निराशा बढ्दै जान थालेको छ ।’

आफूले गठन गरेको पार्टीको सबभन्दा महत्वपूर्ण कार्यभार नै नेपाल कम्युनिष्ट पार्टी नेकपालाई फेरि पुनर्गठन गर्नु नै भएको उहाँले स्पष्ट पार्नु भयो ।

उल्लेखित तीनवटा पार्टीबीच एकता हुँदा भर्खरै निर्माण गरेको भए पनि नेकपा एकता राष्ट्रिय अभियान पनि सँगै एकीकृत हुने पनि गौतमले जानकारी गराउनु भयो । ‘हामीले अनवरत प्रयत्न गर्दा पनि एकता सम्भव भएन भने पार्टी एकीकरण गर्ने विषयलाई पार्टीको मुख्य कार्यभारको रुपमा स्वीकार गर्ने तथा नेकपा एकता राष्ट्रिय अभियानले अगाडि सारेका बिचारहरुलाई जुन कम्युनिष्ट पार्टीले सम्मान गर्नेछ, त्यही पार्टीसँग हामी सम्मानजनक एकिकरणका लागि तयार हुनेछौं,’ उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । यी दुवै कार्य नभएमा भने यो अभियानलाई छुट्टै कम्युनिष्ट पार्टीका रुपमा अगाडी बढाउने पनि जनाइएको छ ।

उक्त पार्टीमा १२ जना पदाधिकारी रहने भएका छन् । जसमा एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, एकजना महासचिव, एकजना उपमहासचिव, एकजना कोषाध्यक्ष र एकजना सचिव रहने जनाईएको छ । सो पार्टीमा ७५ जना केन्द्रीय र १५ जनाको स्थायी कमिटी सदस्य रहनेछन् । अहिले सो पार्टीको सचिवालयमा संयोजक वामदेव गौतम, सचिव डिबी कार्की र सदस्यमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवति विष्ट र युवराज सफल रहेका छन् ।

यसअघि नेकपा एकता राष्ट्रिय अभियानले असार ११ गते राष्ट्रिय भेला सम्पन्न गरेको थियो । भेलाले ६९ सदस्यीय केन्द्रीय कमिटी , १५ सदस्यीय सल्लाहकार कमिटी र २१ सदस्यीय राष्ट्रिय परिषद गठन गरेको थियो । असार १२ गते प्रथम केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले कार्य बिभाजन, वार्ता टोली र अन्य बिबिध निर्णयहरु गरेको जनाईएको छ । जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here