कलाकार र सर्जक राष्ट्रिय गहना हुन् : प्रधानमन्त्री

97

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कला, संगीत र नाट्य क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।

नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको १२ औं प्रज्ञासभाको सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले कलाकार र सर्जक राष्ट्रिय गहना तथा सम्पदा भएको बताए ।

प्रधानमन्त्री देउवाले कला, संगीत र नाट्य क्षेत्रको विकासका मुलुकले कलाकार र सर्जकलाई अधिकतम सहयोग गर्नुपर्छ भन्नेमा सरकार सचेत रहेको बताए । ‘कला, संगीत र नाट्य क्षेत्रको विकासका लागि सरकारले के गर्नुपर्छ ? त्यसका लागि आवश्यक सहयोग उपलब्ध गराउन सरकार तयार छ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले प्रतिष्ठानले मुलुकका विभिन्न क्षेत्रमा छरिएर रहेका भौगोलिक जीवन, संस्कृति र सम्पदाको प्रचारप्रसार तथा संरक्षण गर्दै आएकोमा प्रशंसा गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सच्चा कलाले जीवन बाँच्न सिकाउने उल्लेख गरे । प्रतिष्ठानले नेपाली कलाको संरक्षणमा उल्लेखनीय काम गरेको भन्दै उनले नेपाली कला, संगीत र नाटकलाई विश्वमञ्चमा प्रस्तुत गर्ने वातावरण बनाउन पनि सुझाव दिए ।

‘नेपाली कलालाई संरक्षण र सम्बर्द्धन गर्नु संगीत तथा नाट्य प्रतिष्ठानको महत्वपूर्ण काम हो,’ उनले भने, ‘यसलाई विश्वमञ्चमा प्रस्तुत गर्नु अर्को महत्वपूर्ण काम हो ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सरकारी तवरबाट कला, साहित्य र संगीत क्षेत्रका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here