काठमाडौं । रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका चार जनाको धुलीखेल अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका २१ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। ३ जना गम्भिर घाइतेलाई भने हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा मृत्यु भएको रामेछापकी सहायक प्रमुख जिल्ला अधिकारी गिता गुरुङले रिपोर्टर्स नेपाललाई बताइन् । २७ जना यात्रु सवार बस सडकबाट झन्डै तीन सय मिटर तल खोल्सामा खसेको हो ।


















