रसुवा । रसुवामा निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको शेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले यही १३ गतेदेखि ६८ लाख ४२ हजार १०० कित्ता शेयर बिक्री खुला गरेको थियो ।
आर्थिक समस्याका कारण जिल्लावासीले पाउने सञ्जेन कम्पनीको शेयर हाललाई बिक्री खुला नगर्न स्थानीयले माग गरेका हुन् ।
जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण बैंकहरूलाई सहुलियत कर्जा प्रवाह गरिदिन आग्रह गरिएको छ । रसुवामा कार्यरत बैंक तथा वित्तीय संस्थाले स्थानीयको हितका लागि सुलभ कर्जा उपलब्ध गराउनुपर्ने जिल्ला समन्वय समितिले माग गरेको छ ।
राष्ट्रिय प्रसारण लाइनले छोएका आमाछोदिङ्मो र उत्तरगयाका वडा १, २ र ३ नेसिङ, ग्रे, हाकु, गोगने, डाडागाउँ, ठूलोगाउँ क्षेत्रका प्रभावितलाई शेयरको व्यवस्था गर्न समेत माग गरिएको छ । रासस


















