आईसीसी क्रिकेट विश्वकप लिग टु मा नामिबियासँग भिड्दै नेपाल

89

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत तीन देशीय त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले सोमबार नामिबियासँग खेल्दैछ ।

आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु मा सिरिजको पहिलो खेल नामिबियासँग खेल्न लागेको हो ।

यस्तै, एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हो । नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ । नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ । १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ।

नेपाल नामिबियालाई हराउँदै सिरिजमा सुखद् सुरुआत गर्ने दाउमा छ। तर, नामिबियालाई हराउन नेपाललाई सहज भने हुने छैन।

नामिबिया पनि नेपाललाई हराएर सिरिजमा पहिलो जित निकाल्न चाहन्छ। सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो।

सिरिज अघि नेपालले तयारीका लागि क्यानडाको भ्रमण गरेको थियो। क्यानडामा नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्दा स्थानीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो।

सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ। नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here