छुवाछूत हटाउन होमस्टे

122

तनहुँ । होमस्टे (घरबास) गाउँमै रोजगारी सिर्जना र आम्दानीका लागि सञ्चालन गरिएका हुन्छन्, जहाँ आन्तरिक र बाह्य पर्यटकलाई स्थानीयस्तरमा तयार परिकार खुवाइन्छ । सांस्कृतिक एवं भौगोलिक पहिचान दिलाउने सांस्कृतिक कार्यक्रमसमेत गरेर पर्यटकलाई मनोरञ्जन दिलाइन्छ ।

व्यास नगरपालिका–१३ मा भने छुवाछूत अन्त्यका लागि होमस्टे चलाइएको छ । दलित समुदायका १८ घरले आँपस्वारा दलित सामुदायिक होमस्टे सञ्चालन गरेका हुन् ।

रोजगारीका लागि भारत पसेका स्थानीय रेशम विकले गाउँ फर्किएपछि केही नयाँ काम गर्न दिमाग खियाउन थाले । त्यही बेला होमस्टे चलाउने जुक्ति फुर्‍यो । गुरुङ, मगर, क्षत्रीलगायत जातजातिको समेत बसोबास रहे पनि गाउँमा दलित समुदायको बाहुल्य छ ।

२०६३ मा छुवाछूतमुक्त राष्ट्र घोषणा भए पनि समाजमा छुवाछूत कायमै थियो । होमस्टे छुवाछूतको अन्त्यको माध्यम बन्न सक्ने उनको बुझाइ थियो । सँगै गाउँमै आम्दानीको बाटो पनि खुल्ने भएकाले अरू दलित परिवारलाई हौस्याए । त्यसपछि खुल्यो आँपस्वारा दलित सामुदायिक होमस्टे । यो २०७२ सालको कुरा हो । ‘दलितले चलाएको होमस्टेमा पाहुना आउने हुन् कि होइनन्, पाहुना आए उनीहरूलाई स्वागत के–कसरी गर्ने, के खाना दिने भन्नेजस्ता कुरामा अलमल भयो,’ सामुदायिक होमस्टेका अध्यक्षसमेत रहेका विकले सुनाए, ‘पछि अतिथि सत्कार, खाना बनाउनेलगायतका तालिम लियौं । सुरुमा विदेशी पाहुना आए । बिस्तारै स्वदेशी पाहुनालाई पनि स्वागत गर्न पायौं ।’

होमस्टेका कारण गाउँमा चहलपहल पनि बढेको छ । होमस्टेका सचिव मनोज विश्वकर्माका अनुसार अमेरिका, फ्रान्स, जर्मन, स्विट्जरल्यान्ड, जापान, इन्डोनेसिया, अस्ट्रेलिया र फिनल्यान्डलगायत १८ मुलुकका पर्यटकले आँपस्वारा दलित होमस्टेको भ्रमण गरिसकेका छन् । केही नेपाली पर्यटक पनि आएका छन् । कोरोना महामारीका कारण केही वर्ष भने पर्यटकको आगमन सुस्तायो । ‘हालसम्म आठ सयभन्दा बढी विदेशी र दुई सयभन्दा बढी नेपाली पर्यटक होमस्टेमा आएका छन्,’ उनले भने, ‘दलित, गैरदलित सबै आएर एकै परिवार जसरी बस्नुहुन्छ । छुवाछूतबाट माथि आइसकेका छौं । हाम्रो समाज बिस्तारै परिवर्तन हुँदै छ ।’

गाउँमा होमस्टे सञ्चालन गरेसँगै स्थानीयले गाउँघर सफा राख्न, बारीमा साग, तरकारी लगाउन र आँगनमा फलफूल रोप्न थालेका छन् । होमस्टेमा आउने पाहुनालाई गाउँमै उत्पादन हुने अर्गानिक खाना खुवाउने गरिएको होमस्टे सञ्चालक देवी सुनारले बताइन् । ‘पर्यटक आउन थालेदेखि गाउँको उत्पादन गाउँमै खपत भएको छ,’ उनले भनिन्, ‘हरिया सागसब्जीदेखि मासुसम्म बजारबाट ल्याउनुपरेको छैन । आफ्नो घरमा छैन भने छिमेकबाट किनेर ल्याउने गरेका छौं । होमस्टेले सबै जातजातिप्रति दृष्टिकोण समान बनाउन सहयोग गरेको छ ।’

होमस्टे सञ्चालनमा ल्याएसँगै महिलामा नेतृत्व विकास पनि भएको होमस्टे सञ्चालक मधुमाया विकले बताइन् । ‘पहिले हामी दुई–चार जना मान्छेका अगाडि बोल्न पनि डराउँथ्यौं,’ उनले भनिन्, ‘होमस्टे सञ्चालन गरेसँगै विभिन्न तालिम लियौं, धेरैजसो समय पाहुनासँगै बित्ने हुँदा जोसँग पनि निडर भएर बोल्न सक्ने भएका छौं ।’ पाहुना नआएको समयमा मधुमाया खेतबारीमा व्यस्त हुन्छिन् ।

प्रकृति र ग्रामीण वातावरणसँग रमाउँदै दलित समुदायको संस्कृति, रहनसहन अध्ययन तथा अवलोकनका लागि आँपस्वारा आकर्षक गन्तव्य बनेको छ । साग, गुन्द्रुक, सिस्नो, ढिँडो, भुटेको मकै, भटमास, निउरो, कोदोको रोटीलगायतका स्थानीय उत्पादनको स्वाद चाख्दै यहाँको होमस्टेबाट मनास्लु, अन्नपूर्ण हिमशृंखलाका साथै सूर्योदय र सूर्यास्तको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ । एकपटकमा करिब ५० जना पाहुना राख्न सक्ने होमस्टेको क्षमता छ । कान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here