काठमाडौं । सेयरबजारमा सुधार देखिएको छ। नेप्से १४.७१ अंकले बढेपछि बिहीबार फेरि २००१.५३ विन्दुमा फर्किएको हो। आज २२० कम्पनीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यसअनुसार दिनभरिमा ३९ हजार पटकको कारोबारमा ६२ लाख कित्ता बढी सेयर बिक्री भएका छन्। बिक्री भएका सेयर २ अर्ब ४१ करोड रुपैयाँ बराबरको हो। बिहीबार दिउँसो २ बजेसम्म सेयर बजार परिसूचक उतारचढाव भइरहेको थियो। सो बेला सूचक १९८० विन्दुमा रहे पनि त्यसपछिको एक घण्टामा २००० विन्दु छोएको हो।
योसँगै आज १३ वटै उपसूचक हरियो हुनपुगेका छन्। आज ११६ वटाको सेयर बढेको छ भने ५५ वटाको घटेको छ। १२ वटाको भने उही मूल्य कायम छ। आज लगानीकर्ताहरुले १० प्रतिशतसम्म कमाउँदा ५.०१ प्रतिशतसम्म गुमाउनुपरेको छ। सर्वाधिक कारोबारमा आज एनआईसी एसिया बैंकको ३० करोडको सेयर कारोबार भएको छ। त्यस्तै माथिल्लो तामाकोशीको १४ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।


















