भ्रष्टाचार छानबिनको माग गर्दा महिला आयोग अध्यक्ष पराजुलीले मागिन् उल्टै सुरक्षा

106

काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आफू असुरक्षित भएको भन्दै सुरक्षा माग गरेकी छन्।

आयोगको जिम्मेवारी लिनुअघि संकल्प नेपाल नामक संस्थाको अध्यक्ष रहेकी पराजुलीमाथि राज्य कोषबाट रकम लिएर दुरुपयोग गरेको आरोप लाग्दै आएको छ।उक्त आरोपमाथि छानबिनको माग गर्दै युवाहरुले उनको निवास नरेफाँटनजिकै शनिबार प्रर्दशन गरेपछि पराजुलीले सामाजिक सञ्जालमार्फत आफू असुरक्षित रहेको दाबी गर्दै राज्यसँग सुरक्षा माग गरेकी हुन्।

आफूमाथि लागेको आरोपको जवाफ दिनुको साटो संवैधानिक पदमा बसेर सामाजिक सञ्जालमार्फत सुरक्षाका लागि हारगुहार गर्नुलाई अनौठो मानिएको छ।

‘सरकार मलाई शान्ति सुरक्षा चाहियो र म उपर कुनै पनि समय, कुनै पनि घटना हुनसक्ने सम्भावना यो परिदृष्यले संकेत गरेको छ,’ प्लेकार्ड लिएर उभिएका युवाहरुको फोटो राख्दै पराजुलीले अगाडि भनेकी छन्, ‘आज दिउँसो ५ः३० बजे तस्विरमा भएका पेशेवर व्यक्तिहरु मेरो घर र बस्तीमा आएर मेरोविरुद्ध मनपरी तथानाम नाराबाजी गरेर आतंक मच्चाएका छन्। यी व्यक्तिहरु किन, कसरी, कोबाट परिचालित छन्? सरकारको गम्भीर ध्यानाकर्षण होस्।’संवैधानिक निकायको जिम्मेवार पदमा बसे पनि पराजुलीले आफूमाथि लागेको अनियमितताको आरोपबारे जवाफ दिन छाडेर प्रश्न गर्नेलाई दबाउन पदीय हैसियतको दुरुपयोग गरेकी छन्।

पराजुलीमाथि छानबिनको माग गर्ने हण्ड्रेड ग्रुपका बब्लु गुप्ताले जवाफ दिनुपर्नेले लाञ्छना लगाउँदै हिड्नु राम्रो नभएको बताए।

उनले भने, ‘हामीले उहाँको घरभन्दा ५०० मिटर वरै प्रहरीसँग समन्वय गरेर प्लेकार्ड देखाएका हौँ। भ्रष्टाचारीहरुलाई कारबाही हुनुपर्छ भनेर हामीले अहिले मात्रै आवाज उठाएका होइनौँ, यसअघि विष्णु पौडेल, सरिता गिरी र इम्बोष्ट नम्बरबारे विकल पौडेलमाथि पनि कारबाहीको माग गरेका थियौँ।’

पराजुलीले राष्ट्रिय मानव अधिकार आयोग सुरक्षा माग गर्दै उजुरी दिएको गुप्ताले बताए। ‘हामीलाई मानव अधिकार आयोगबाट आउनु पर्‍यो भनेर दुई तीनपटक फोन आइसक्यो,’ गुप्ताले अगाडि भने, ‘उहाँले आयोगमा उजुरी गर्नुभएको रहेछ। आफ्नो अनियमिता लुकाउन हामीमाथि लाञ्छाना लगाउनु कत्तिको जायज हो?’

भएको के हो?

शंखरापुरको इन्द्रयणीमा संकल्प ज्येष्ठ नागरिक ग्राम बनाउने भन्दै पराजुली अध्यक्ष भएको बेला संकल्प नेपालले महिला तथा बालबालिका मन्त्रालयसँग २०७०/७१ मा ६ करोड १ लाख अनुदानका लागि हस्ताक्षर भयो। २० रोपनी सरकारी जग्गा भवन निर्माणका लागि पाएको संकल्प नेपालले पटक–पटक गरेर ४ करोड रुपैयाँ लियो।

२०७२ सालको भुकम्पपछि निर्माणाधीन भवनमा क्षति पुगेको जानकारी आएपछि महन्त्रालयले अध्ययन गरेर मात्रै थप रकम निकास दिने निर्णय गर्‍यो। सहरी विकास तथा भवन निर्माण विभागको २०७२ असारमा गरेको स्थलगत प्रतिवेदन अध्ययन प्रतिवेदनमा निर्माणाधीन भवनको पिलर ७ इन्चदेखि १ फिटसम्म सरेको र मन्त्रालयबाट गएको रकमअनुसार काम नभएको प्रतिवेदन दियो।

चार करोड मन्त्रालयबाट लगे पनि निर्माण भने थोरै रकमको भएको तथ्य सार्वजनिक भयो। त्यसपछि मन्त्रालयले सम्झौताअनुसारका थप दुई करोड पनि दिएन भने संकल्प नेपालले भवन निर्माण अलपत्र छाड्यो।

निकास भएको रकमअनुसार काम नभएपछि महालेखा परीक्षकले खर्च भएको रकमबाहेकको पैसा राज्य कोषमा फिर्ता गर्नुपर्ने ठहर गर्दै आएको छ। आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ मा महालेखाको प्रतिवेदनमा पनि आवश्यक छानबिन गरी खर्च हुन नसकेको रकम फिर्ता गर्न पहल गर्नुपर्ने औंल्याइएको थियो।

हालसालै सार्वजनिक भएको महालेखाको २०७७/७८ को ५९औँ प्रतिवेदनमा पनि रकम भवन निर्माणबाट बचेको रकम फिर्ता हुन नसकेको उल्लेख छ।

जेष्ठ नागरिक ग्रामका नाउँमा भ्रष्टाचार भएको भन्दै आवाज उठेपछि महिला मन्त्रालयले छानबिन समिति बनाएर अध्ययन गरेको छ। तर प्रतिवेदन सार्वजनिक गरिएको छैन।

सरकारी रकमको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पनि शक्ति केन्द्रको दबाबका कारण छानबिन अघि बढाउन सकेको छैन। पराजुली एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मान्छिन् र उनलाई ओलीले नै विवादस्पद अध्यादेश ल्याएर आयोगमा नियुक्ति दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here