छेडागाड नगरपालिकाका सामुदायिक विद्यालय एक हप्ता बन्द

175

जाजरकोट ।सामुदायिक विद्यालय कार्यालय सहयोगी संघर्ष समिति, छेडागाड नगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

संघर्ष समितिका सचिव कालीबहादुर बस्नेतले नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पत्राचार अनुसार विद्यालय बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।

छेडागाड नगरपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय यही भदौ १२ गतेदेखि १८ गतेसम्म बन्द गर्ने निर्णय गरिएको सचिव बस्नेतले जानकारी दिनु भयो ।

सरकारले आफूहरूसँग पटक–पटक गरेका सहमति उल्लङ्घन गरेको भन्दै विद्यालय कर्मचारी भदौ १ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि ३४ हजार ७३० रुपियाँ मासिक तलब र दुई सय रुपियाँ महंगी भत्ता गरी जम्मा रू ३६ हजार ७३० पाउनुपर्ने, विद्यालय सहयोगीलाई २४ हजार २१० रुपियाँ र महंगी भत्ता  दुई सय  गरी  २६ हजार २१० पाउनुपर्ने माग छ ।

शिक्षा ऐन २०२८ को संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्‍याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई सम्मानजनक अवकाशको व्यवस्था गरिनुपर्ने कुरा उल्लेख गरिएको छ ।

विभिन्न समयमा गरिएका सहमति, सम्झौता, तथा सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने लगायतका माग विद्यालय कर्मचारीले राखेका छन् ।

यता विद्यालय कर्मचारीहरुको बन्द गर्ने निर्णयले बालबालिकाहरुको पढ्ने अधिकारबाट वञ्चित बनेको भन्दै अभिभावकहरुले विरोध जनाएका छन् । Gorkhapatra bata

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here