काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा विद्यार्थीको समूहले बिथोल्ने प्रयास गरेको छ ।
त्रिवि प्रशासनले पत्रकार सम्मेलन गर्न खाेज्दा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सम्मेलन नगर्न दबाब दिएकाे थियाे । त्रिवि प्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने याेगेन्द्र रावलले त्रिवि प्रशासनलाई दबाब तथा विरोधबाजी गरेपछि स्थिति तनावपूर्ण बनेकाे थियाे । त्यसै क्रममा नेकपा एमाले निकट अनेरास्ववियुले काउन्टर प्रदर्शन गर्याे । त्यसपछि दुईपक्षबीच झडप भएको छ । घटनामा दुई विद्यार्थी र एक जना प्रहरी घाइते भएका छन् ।
त्रिभुवन विश्वविद्यालयका नेविसंघ नेता सुमनप्रसाद अधिकारी चाहिँ शान्तिपूर्ण प्रदर्शनका गरिए पनि प्रशासनले त्यसविरुद्ध अर्काे समूहरुलाई उतारेको दाबी गर्छन् । उनी भन्छन्, ‘हामीविरुद्ध प्रशासनले एमाले कार्यकर्ता उतारेको छ ।’
नेविसंघका कार्यकर्ताहरु शुक्रबार जमलस्थित एक होटलमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकमा पनि जबर्जस्ती प्रवेश गरेका थिए । बेलुकी साढे ४ बजे नेविसंघमा आबद्ध विद्यार्थी हौं भन्दै गएका उनीहरुले उपस्थित पदाधिकारीलाई दुर्व्यवहार गरेको विश्वविद्यालयले जनाएको छ ।
‘उपस्थिति कार्यकारी परिषद्का सदस्य एवं कर्मचारीबाट कार्यकारी परिषद्का विगतका निर्णयसहितको पुस्तिका एवं अन्य महत्वपूर्ण कागजपत्र र फाइलहरु खोस्ने, कब्जा गर्ने, पदाधिकारी तथा कर्मचारीहरुलाई हातपात गर्न खोज्ने आदि जस्ता अभद्र व्यवहार गरी महत्वपूर्ण कागजातन लुटेर लैजाने कार्य गरेको प्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’ त्रिविले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

















