भारतका राष्ट्रिय राजनीतिक दलहरुसँग करोडौं गोप्य रकम

53

काठमाडौं । भारतका राष्ट्रिय राजनीतिक दलहरुसँग करोडौं गोप्य रकम भएको खुलेको छ। चुनाव सुधार संस्था, एशोसियसन फर डेमोक्रेटिक रिफर्म, को विश्लेषण अनुसार पछिल्लो १७ वर्षको अवधिमा दलहरुले करोडौं गोप्य रुपैयाँ राखेको खुलेको हो।

दलहरुले आर्थिक वर्ष २००४/०५ देखि २०२०/०२१ बीचमा अज्ञात स्रोतबाट करिब १५ हजार ७७ करोड भारतीय रुपयाँभन्दा धेरै रकम जुटाएको पाइएको हो। उक्त संस्थाले यो तथ्य हालै सार्वजनिक गरेको हो।

एडीआरका अनुसार २०२०/०२१ मा मात्रै राष्ट्रिय र क्षेत्रीय दलहरूले अज्ञात स्रोतबाट ६९०.६७ करोड भारतीय रुपैयाँ जम्मा गरेका थिए। संस्थाले आठवटा राष्ट्रिय र २७ क्षेत्रीय दलले अज्ञात स्रोतबाट आम्दानी गरेको धनराशीको विश्लेषण गर्दै उक्त तथ्य सार्वजनिक गरेको हो।

यसरी अज्ञात स्रोतबाट करोडौं रकम भित्र्याउने दलहरुमा भारतीय जनता पार्टी (भाजपा), कांग्रेस, तृणमूल कांग्रेस (टीएमसी), भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी (माकपा), राष्ट्रिय कांग्रेस पार्टी (राकांपा), बहुजन समाज पार्टी (बसपा), भारतीय कम्युनिष्ट पार्टी (भाकपा) र नेशनल पिपुल्स पार्टी (एनपीपी) रहेका छन्।

त्यस्तै क्षेत्रीय दलमा आम आदमी पार्टी (आप), बीजू जनता दल (बीजद), द्रमुक मुनेत्र कषगम, अल इन्डिया अन्ना द्रमुक मुनेत्र कषगम, शिवसेना, तेलुगु देसम पार्टी, तेलंगाना राष्ट्र समिति, जनता दल (युनाटेड), झारखण्ड मुक्ति मोर्चा, राष्ट्रिय लोक दल (रालोद), शिरोमणि अकाली दल र महाराष्ट्र नव निर्माण सेना रहेका छन्।

यो विश्लेषण पार्टीहरुद्वारा पेस गरिएको आयकर रिटर्न (आईटीआर) र भारत निर्वाचन आयोगमा पेस भएको चन्दासम्बन्धी निवेदनमा उल्लेख छ। संस्थाका अनुसार आर्थिक वर्ष २००४/०५ देखि २०२० बीचमा राष्ट्रिय दललाई मात्र अज्ञात स्रोतबाट १५ हजार ७७.९७ करोड भारतीय रुपैयाँ उपलब्ध भएको थियो।

अज्ञात स्रोतबाट करोडौं रकम 
यस्तै आर्थिक वर्ष २०२०/२१ मा आठ राष्ट्रिय दलले अज्ञात स्रोतबाट ४२६.७४ करोड भारतीय रुपैयाँ प्राप्त गरेका थिए। त्यस्तै २७ क्षेत्रीय दलले २६३.९२८ करोड भारतीय रुपैयाँ प्राप्त गरेका छन्।

संस्थाका अनुसार आर्थिक वर्ष २०२०/२१ मा कांग्रेसले १७८.७८२ करोड भारतीय रुपैयाँ यस्तो स्रोतबाट चन्दा पाएको थियो। यो राष्ट्रिय दललाई प्राप्त भएको रकमको ४१.८९ प्रतिशत हो। त्यस्तै सरकार सञ्चालन गरिरहेको भाजपाले यस्तै स्रोतबाट १००.५०२ करोड भारतीय रुपैयाँ प्राप्त गरेको थियो। यो राष्ट्रिय दलको  २३.५५ प्रतिशत हो।

अज्ञात स्रोतबाट धेरै पैसा प्राप्त गर्ने पाँच क्षेत्रीय दलमा बाईएसआर–कांग्रेस ९६.२५०७ करोड, द्रमुक ८०.०२ करोड, बीजद ६७ करोड, मनसे ५.७७३ करोड र आम ५.४ करोड रहेका छन्।

एडीआरका अनुसार २०२०–२२ मा राष्ट्रिय र क्षेत्रीय दलले कूल ६९०.६७ करोड भारतीय रुपैयाँमा ४७ प्रतिशत रकम चुनावी फण्डबाट प्राप्त गरेका थिए। आर्थिक वर्ष २००४/०५ देखि २०२०/२२ सम्म कांग्रेस र राकांपाले कुपनको बिक्रीबाट ४२६१.८३ करोड भारतीय रुपैयाँ चन्दा जुटाएका छन्।

एडीआरले आर्थिक वर्ष २०२०/२१ का लागि गरेको अडिटमा सात राजनीतिक दलमा कैयौं विसंगति देखिएको छ। यी दलमा टीएमसी, भाकपा, आप, शिअद, केरल कांग्रेस, अल इन्डिया फोरवर्ड ब्लक र अखिल भारतीय संयुक्त लोकतान्त्रिक मोर्चा रहेका छन्।

दलहरुले पाएको रकमको अज्ञात स्रोतको रकम यकीन गर्न एडीआरलाई निकै कठिनाई उत्पन्न भएको थियो। भारतमा २०१३ मा राजनीतिक दललाई सूचनाको हकसम्बन्धी ऐन अन्तर्गत ल्याइएको थियो।

पार्टीभित्रको गतिविधि र आर्थिक संकलनको कुरा नागरिकले सूचनाको हकद्वारा माग्न पाउने र जान्न पाउने हक हुने व्यवस्था गरिएको थियो। तर, दलहरुले अहिले पनि यस्तो सूचना दिने गरेका छैनन्। अहिले भएका मौजुदा कानुनले दलहरुलाई पारदर्शी बनाउन सम्भव नभएकाले सूचनाको हक प्रयोग गरेर मात्र उनीहरुको स्रोत खोज्न अध्ययन गरेको संस्थाले दाबी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here