हरितालिका तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास

87

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

तीजको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिने जनाइन् ।

‘महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु,’ उनले सन्देशमा उल्लेख गरेकी छन् ।

उनले तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यका लागि कामना गर्नु व्यक्त गरेकी छन् ।

‘हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्व रही आएको पाइन्छ’ उनको सन्देशमा भनिएको छ, ‘परापूर्वकालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बका रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here