पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने

113

काठमाडौं । हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ। पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही गरिँदै आएको छ।

पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए।

सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो।

गर्भगृहको तस्बिर खिचेमा दुई हजार एक सय रूपैयाँ, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार एक सय रूपैयाँ र मूल मन्दिर परिसरको तस्बिर खिचेमा ५०० रूपैयाँ जरिवाना गर्न लागिएको हो। पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारीले सूक्ष्म अनुगमन गर्न लागेको पराजुलीले जानकारी दिए।

कोषले तिजका दिन यही भदौ १४ गते बिहान छ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ। पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here