साढे सात वर्षपछि ठडियो भूकम्पले क्षतिग्रस्त जयवागेश्वरी मन्दिर

58

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर भूकम्पको साढे सात वर्षपछि माटोको जोडाइबाट ठडिएको छ । सम्पन्न जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनर्निर्माण हुनसक्छ भन्ने उदाहरण बन्न सफल भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताउनुभयो । उहाँले भन्नुभयो,“मन्दिरको गारो जोड्न साँखु र लुभुबाट माटो ल्याइएको थियो, पहेँलो र बलौटे माटो मिसाएर जोड्दा काम गर्न सहज भएको हो ।”

भूकम्पले पूर्ण क्षति भएको मन्दिर पुनर्निर्माणका लागि भत्काउने क्रममा तीनवटा गजुर भेटिएको थियो । पुनर्निर्माणका क्रममा तीन वटै गजुरलाई एक तह छोपिएको छ । त्यसमाथि अर्को तहले छोपेर बाहिर देखिने गजुर राखिएको कोषका निर्देशक मरासिनीले बताउनुभयो ।

जयवागेश्वरीको उदाहरणपछि एक तले मन्दिर माटोको जोडाइबाट बनाउन सकिन्छ भन्ने पुष्टि भएको छ । मन्दिर ठडिए पनि तान्त्रिकविधिले कोरिएको भित्तेचित्रको काम भने बाँकी छ । कोषका इन्जिनियर पशुपति ठाकुर तान्त्रिक विधिले भित्तेचित्र निर्माण गर्न तीन महिना लाग्ने बताउनुहुन्छ । मन्दिर पुनर्निर्माणका लागि पटक–पटक थपिएको म्याद भने आगामी कात्तिक २ गते सकिँदै छ ।

मन्दिर पुनर्निर्माणका लागि भत्काउने क्रममा मन्दिरभित्र भैरवलगायत विभिन्न देवीदेवताका चित्र, तीन गजुरको मन्दिरलगायत संरचना भेटिएको थियो । यसको अध्ययनका लागि पुरातत्त्व, संस्कृतिविद्लगायत विज्ञको समिति गठन गरी थप अनुसन्धान गरिएकाले पुनर्निर्माणमा ढिलाइ भएको हो । समितिले माटोको जोडाइबाट मन्दिर पुनर्निर्माण गर्नुपर्ने सिफारिस सहितको प्रतिवेदन दिएको थियो ।

सडकमा रहेको मन्दिर पुनर्निर्माणका लागि चुना सुर्कीको अनुमानित खर्चसहित कोषले २०७५ माघमा तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनर्निर्माण सक्ने गरी सम्झौता गरेको थियो ।

सम्झौता अनुसार मन्दिर पुनर्निर्माणका लागि भत्काउने क्रममा तीन गजुरसहितको भित्री मन्दिर, भैरवसहित विभिन्न देवीदेवताका भित्तेचित्रलगायत संरचना भेटिएको थियो । जसका कारण निर्माण अवधि बढेर दोब्बर समय लागेको हो । पुरातत्त्व विभागका महानिर्देशक एवं विज्ञ समितिका सदस्य दामोदर गौतम ऐतिहासिक, पुरातात्त्विक महत्त्वका मन्दिर  पहिले प्रयोग भएकै निर्माण सामग्री प्रयोग गरेर बनाउनुपर्ने कानुनी व्यवस्था अनुसार कोषलाई सुझाव दिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “माटो परीक्षण गरेर पहिलेकै जस्तो गुणस्तरीय माटोबाट मन्दिर बनाउनुपर्ने प्रतिवेदन दिएका छौँ, माटोको जोडाइबाट पुनः निर्माण गर्दा भित्र भेटिएका चित्र फेरि राख्न भनेका थियौँ ।” विज्ञ समितिको प्रतिवेदन अनुसार कोषले यसअघि माटोको जोडाइबाट बनाइएका मन्दिरको अध्ययन गरेको थियो । साँखुस्थित बज्रयोगिनी मन्दिरमा इट्टाको बीचमा राखिएको माटोको परीक्षण गरिएको कोषका प्रशासकीय अधिकृत सीताराम रिसालले बताउनुभयो ।

रु तीन करोड १४ लाखमा जयवागेश्वरी मन्दिर समग्र पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको हो । विश्व सम्पदा सूचीमा सूचीकृतस्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐन अनुसार यहाँ पुनर्निर्माणको काम गरिएको छ । कोषका निर्देशक मरासिनी जयवागेश्वरीको पुरानो संरचना अनुसार पुनर्निर्माणको काम भएको बताउनुहुन्छ ।

कोषले २०७२ जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलसका सञ्चालक कल्याण शर्मालाई पुनर्निर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनर्निर्माणको काम सुरु गर्न नसकेपछि २०७४ सालमा सम्झौता रद्द गरियो । जिम्मा लिएका दाताले क्षतिग्रस्त मन्दिरको पुनर्निर्माण ३५ महिना बित्दा पनि नगरेपछि कोषले सम्झौता रद्द गरेको थियो ।

दाता शर्मा सुरुमा पुरातत्त्वले नक्सा र डिजाइन स्वीकृत गर्न समय लगाएको, स्वीकृत भएर पुनर्निर्माण सुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पुनर्निर्माणबाट पछि हट्न बाध्य हुनुपरेको बताउनुहुन्छ । सती प्रथा रहुन्जेल राजा महाराजाको निधनमा सती जाने रानीको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरिन्थ्यो भन्ने भनाइ स्थानीयवासीबीच चर्चित छ ।

चढाइएको गरगहनालगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं संस्कृतिविद् डा. गोविन्द टण्डन बताउनुहुन्छ । पशुपति क्षेत्रमा रहेका पाँच सय १८ स्मारकमध्ये ९५ वटामा भूकम्पले क्षति पु¥याएको थियो । १५ सम्पदा पूर्ण रूपमा क्षति भएका थिए । पशुपति क्षेत्रका ८० वटा सम्पदामा आंशिक क्षति भएको थियो ।

भूकम्पले प्रभावित ३२ जिल्लामध्ये २९ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म छ सय ७० वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पले अन्य संरचनामा क्षति पुगेका नवलपरासीका दुई जिल्ला र मुस्ताङका सम्पदामा भने क्षति गरेन ।”

जयवागेश्वरीको ऐतिहासिक पृष्ठभूमि

जयवागेश्वरीको निर्माण कलिगत संवत् ३२३२ मा सुरु भएर ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको थियो । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्धार गरिएको थियो ।

मन्दिरको कलेवर १२/१२ वर्षमा फेर्ने गरिएको छ । कलेवर फेर्दा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाइन्छ । जयवागेश्वरीमा टाउको काटिनु अघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको गणेशको मूर्तिमा सूँढ नभएको स्थानीयवासी सन्देश मुनिकारले बताउनुभयो ।

जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रूपमा मानिए पनि विद्याकी देवीका रूपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुनधारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठिक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ ।

जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउनुहुन्छ । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोकालगायत संरचना रहेकामा यो पनि लोपोन्मुखको अवस्थामा पुगेको छ ।

गोपाल र किरात शासनकालको राजधानी जयवागेश्वरी थियो । लिच्छविकालको राजधानी यहीबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको हो । मल्लकालमा हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको इतिहासविद्हरूको भनाइ छ । ऐतिहासिक एवं सांस्कृतिक रूपले महत्त्वपूर्ण क्षेत्र भए पनि जयवागेश्वरीका सम्पदाको संरक्षण हुन नसकेकोको स्थानीयवासीको गुनासो छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here