नेपाल प्रहरीकाे मौलो पूजा सम्पन्न

155

काठमाडौं । नेपाल प्रहरीले मौलो पूजा सम्पन्न गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा मौलो पूजा सम्पन्न गरिएको हो ।

नेपाल प्रहरीले परम्परागतरुपमा गर्दै आएको मौलो पूजा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पूजाको क्रममा प्रहरी महानिरीक्षक सिंहले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छापसमेत लगाउनुभएको छ । उहाँले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी सहायक हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदानसमेत गर्नुभएको हो ।

यस्तै, नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको छ । जसमा दुई वटा निशान रहेको छ । मूख्य निशानमा सूर्य र चन्द्रकोबीचमा राम धनुष चिन्ह अंकित हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्हको हुन्छ ।

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्ने जस्तो संवेदनशील कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतीककारुपमा निशान झण्डालाई लिईन्छ ।

संगठनको कार्य सम्पादनमा कुनै किसिमको अनिष्ट नहोस् र कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रहि आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्त गरेको थियो ।

झण्डा प्राप्त गरेदेखि हरेक वर्ष बडा दशैँ र चैते दशैँमा मौलो पूजा गरिन्छ । यसका साथै देशभरका प्रहरी कार्यालयमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा अनुसार सबै प्रहरी इकाईमा विधिवत मौलो पूजा सम्पन्न गरिएको प्रहरीले जनाएको छ । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here